जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १९:१८

उदयपुर सिमेन्टका महानिर्देशकले दिए राजीनामा


काठमाडौं, २५ जेठ । उदयपुर सिमेन्टका महानिर्देशक गोपीकृष्ण न्यौपानेले राजीनामा दिनुभएको छ । उहाँले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाउनुभएको हो । उद्योग आर्थिक संकटमा फसेपछि ऋण तिर्न पैसा मागिएकोमा त्यो सरकारले दिन नसकेपछि राजीनामा दिएको मन्त्रालय स्रोतले बताएको छ ।

पहिलो चरणमा कम्तीमा २५र३० करोड माग गरिएको उद्योग मन्त्रालयले पैसा नभए जवाफ दिएको थियो । नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई २ वर्षमै १ अर्ब बढीको आर्थिक भार थपिएको छ ।

उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महशुल, सरकारी अन्तस्शुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडीएस, कोइला खरिदको भुक्तानी लगायत शिर्षकमा एक अर्ब ९ करोड बढी दायित्व भार परेको छ । बक्यौता नतिरेपछि विद्युत् प्राधिकरणले उद्योगको लाइन समेत काटिदिएको थियो । अधिकांश समय बन्द रहने उद्योगको अवस्था दयनीय बनेपछि उद्योगका ४ कर्मचारी संगठनले ज्ञापनपत्र बुझाउनेदेखि उद्योग बचाइदिन आग्रह गर्दै आएका छन् ।