जनता टाइम्स

२५ जेष्ठ २०८०, बिहीबार १०:५८

एमालेले यसकारण हटायो ७० वर्षे उमेर हद


काठमाडौं, जेठ २५ । नेकपा एमालेले बिधानमा रहेको ७० बर्षे उमेर हदको प्रावधान हटाएपछि पार्टी पंक्तिदेखि बिपक्षी दलसम्म तरंग फैलिएको छ ।

मिसन ग्रासरुटको समिक्षापछि फरक जिल्लामा इञ्चार्ज तोक्नुका साथै ७० बर्षे प्रावधान निलम्बन गरी बिधान महाधिवेशनमा लैजाने निर्णय गरेको छ । एमालेले यस्तो निर्णय किन लियो ? यसबारे एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सवैलाई बुझ्ने भाषामा प्रष्ट पार्नुभएको छ ।

ज्ञवालीले भन्नुभयो, ‘लामो समयसम्म एमालेमा रहनुभएका साथीहरू बाहिरिनुभयो । उहाँहरू अहिले पुनः एमालेमै फर्किन चाहनुहुन्छ । तर, उहाँहरूको उमेर र पार्टी विधानको प्रावधानका कारण पार्टीमा सक्रिय रूपमा काम गर्न सम्भव देखिएन । उहाँहरूलाई सल्लाहकारमा मात्र सीमित गर्न पनि मिलेन । त्यसैले, बाहिरिएका साथीहरूलाई समेट्न हामीले उमेर हदको प्रावधान हटाउने प्रस्ताव गरेका हौँ ।’

उहाँले बिधान महाधिवेशनमा प्रस्ताव लगेर अनुमोदन गर्ने निर्णय गरेको जानकारी पनि दिनुभयो । ‘हामीले यो प्रावधान हटाउने प्रस्ताव गरेका हौँ, हटाइसकिएको होइन । पार्टीमा हाल क्रियाशील कुनै नेतालाई हेरेर प्रस्ताव गरिएको होइन । विगतमा पार्टी विभाजित भयो । पुराना नेता फर्काउन गरिएको हो,’ ज्ञवालीको भनाई छ ।