जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १२:४३

सरकारलाई योगेश भट्टराईको चेतावनी : यस्तो काम किमार्थ स्वीकार्य हुँदैन


काठमाडौं, जेठ २६ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कोशी प्रदेशमा पहिचानका नाममा सत्तारुढ दलकै नेता–कार्यकर्ताले एमालेमाथि आक्रमण गरेका भन्दै आपत्ति जनाउनु भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै एमाले सचिव भट्टराईले कोशी प्रदेश नामाकरणपछि पहिचानवादी समूहले पार्टीका नेतालाई निशाना बनाएको भन्दै कडा आपत्ति जनाउनु भयो । कोशी प्रदेशको नामलाई लिएर एमालेका शीर्ष नेताको हत्या प्रयास भएको भन्दै भट्टराईले एमाले नेतामाथि निरन्तर भइरहेका आक्रमणबारे स्पष्ट जवाफ दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो ।

’प्रदर्शनकारीको मृत्यु के कारणले भयो ? पुलिसले हो कि ? राज्यले हो ? या अरु कारणले गृहमन्त्रीज्यू जवाफ चाहियो, प्रदेशको नाम के राख्ने हामीसँग सरोकारको विषय होइन, कुनै पार्टीलाई चित्त बुझेको छैन भने वैधानिक प्रक्रियाबाट दुई तिहाइ बहुमतबाट नाम परिवर्तन गर्नुस, हामीलाई स्वीकार्य छ,’ भट्टराईले भन्नुभयो, ‘ढुंगामुढा र अराजकता सृजना गरेर हुँदैन, देशलाई जातिय र साम्प्रदायिक विभाजन गर्नेभन्दा दुःखद कुरा केही छैन, यस्तो काम किमार्थ स्वीकार्य हुँदैन ।’

सत्तापक्ष एमालेसँग भिड्न खोजेको हो ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ’मुख्यमन्त्रीमाथि हमला हुन्छ, अरु मन्त्रीमाथि दुर्व्यवहार भएको छ, सरकारी कार्यालयका साइनबोर्ड फ्याँकिएका छन्, सरकार रमिता हेरेर बसेको छ, सत्तारुढ घटकमध्येका केही दलका प्रतिनिधिहरु हाम्रो पार्टी अध्यक्षमाथि हातपात गर्न आए, राम रानामाथि हातपात गर्न आए, उपनेतामाथि हातपात गर्न आए, उपसभामुखमाथि हातपात गर्न आए, तपाइँलाई भिडियो र फोटो देखाउला, सत्तापक्ष हामीसँग भिड्न आउन खोज्नुभएको छ ?’

उहाँले एमालेमाथिको आक्रमण नरोकिए प्रतिवाद गर्ने चेतावनी पनि दिनुभयो । शान्तिपूर्ण विरोध प्रदर्शनमा विश्वास गर्ने पार्टी भएको भन्दै उहाँले वैधानिक प्रक्रियाबाट नाम बदले कुनै आपत्ति नरहने बताउनुभयो । सरकारले सुरक्षा दिन नसके एमालेले आफ्नो सुरक्षा आफैं गर्ने भट्टराईले बताउनुभयो ।

’एमालेमाथि पार्टीगत हिसाबले नेतागत हिसाबले निशाना लगाइन्छ भने, गृहमन्त्रीजी तपाइँले सुरक्षा दिन सक्नुहुन्न भने एमालेको सुरक्षा एमालेले गर्छ, गृहमन्त्रीबाट स्पष्ट जवाफ चाहान्छौं, स्पष्ट जवाफ आएन भने हाम्रो विरोध जारी रहन्छ,’ सचिव भट्टराईले भन्नुभयो ।
उहाँले मुलुकमा सरकार आफै हिंसा मच्याउन खोजेको पनि बताउनु भयो ।