जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १३:१०

प्रचण्ड सरकारबारे माधव नेपाल : भ्रष्टाचारको नांगो रुप देखिन थाल्यो, पैसाबिना काम हुनै छाड्यो


काठमाडौं, जेठ २६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै दलको समर्थनमा बनेको सरकारमाथि गम्भीर आरोप लगाउनु भएको छ ।

अहिले पैसाबिना काम हुनै छाडेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको तथ्य खोल्नुभएको हो । नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी पनि गर्नुभयो । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली राजनीतिमा सबैभन्दा चर्को रुपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताउनु भयो । उहाँले पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै उहाँले नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको बताउनु भयो । उहाँले जनतालाई पीडा दिने र शोसक सामन्तहरु र दलाल पुँजीहरु हाबी हुन पुग्ने र इमन्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ । बिना पैसाको कुनै काम नहुने पैसामा लोभिने, जनतालाई पीडा दिने र शोसक सामन्त, जाली फटाहाहरु अझै दलाल पुँजीहरु हाबी हुन पुग्ने, इमन्दार र असल पागा पर्नुपर्ने स्थिति विद्यमान छ, यसको परिवर्तन गर्न चाहन्छौँ । असल बन्नसके, भ्रष्टाचारका बिरुद्ध उभिनसके बल्ल सत्य ठहरिन्छ, अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ । भूटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरु बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिको बिरुद्धमा जुध्नुपर्नेछ ।’

अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरु सल्बलाएको बताउनु भयो । उहाँले वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको बताउनु भयो ।