काठमाडौं, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको टिप्पणी गर्नुभएको छ । भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै उहाँले प्रश्न पनि गर्नुभएको छ । देश नै ग्रहण लागेको अवस्थामा पुगेको भन्दै ओलीले सरकारले साढे ६ प्रतिशत रहेको उत्पादन वृद्धिदर २ प्रतिशतभन्दा कम हुनुमा सरकारले युक्रेनको वार देखाइरहेको आरोप लगाउनुभयो ।
उहाँले प्रश्न गर्दै भन्नुभयो,‘प्रचण्डजीको भारत भ्रमणमा भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ?’ नेपालका नदी भारतलाई कुन आधारमा दिइएको भनेर प्रधानमन्त्री भन्न नसकेकाले शंका गर्ने ठाउँ रहेको उहाँको भनाई छ । सरकारले जनतालाई कुन सर्तमा यस्ता सम्झौता भएको हो भन्ने कुराको जानकारी दिनुपर्ने बताउनुभयो । ओलीले नेपालका नदीहरू भारतलाई सित्तैमा दिएको पनि युक्रेनकै वारले हो भन्दै अर्को प्रश्न पनि तेर्स्याउनुभयो ।
नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले थप्नुभयो, ‘अहिले त अवस्था राम्रो छैन । देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । त्यसरी नराम्ररी देश पछाडि परेको छ । साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो । अहिले कोभिडको मारले यता उता भनेको होइन । युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ । युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो की ? के गरेको छ ? अनि यहाँ युक्रेनका वारले हो प्रचण्डजीले नदीहरू सित्तैमा दिएर आएको ?’













प्रतिक्रिया दिनुहोस्