काठमाडौं, जेठ २८ । सरकारले निजामति कर्मचारीलाई कार्यालयभित्र र पोशाकमा टिकटक बनाउन निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी नै टिकटकमा ब्यस्त हुन थालेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालयलगायतले हालै परिपत्रमार्फत कार्यालयभित्र र कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएका छन् । सर्वसाधारणको गुनासो सुन्न सरकारले खडा गरेको संयन्त्र ‘हेलो सरकार’मा परेका उजुरीका आधारमा हाल विभिन्न मन्त्रालयले मातहतका कर्मचारीका लागि टिकटक प्रयोगसम्बन्धी निर्देशन नै जारी गरेका हुन ।
‘कार्यालयभित्र टिकटक नबनाउन हामीले कर्मचारीलाई निर्देशन दिएका छौँ,’ संघीय मामिला मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भन्नुभयो, ‘केही कर्मचारीले बनाएका टिकटकका विषयवस्तुबारे गुनासो आएपछि यस्तो निर्देशन दिएका हौँ ।’
राष्ट्रसेवक कर्मचारीहरूले कार्यालयभित्रै अशोभनीय र उच्छृंखल किसिमका टिकटक पोस्ट गर्न थालेको भन्दै गुनासो आउन थालेपछि विभिन्न मन्त्रालयले कार्यालयभित्र टिकटक बनाउन रोक लगाएका हुन।













प्रतिक्रिया दिनुहोस्