जनता टाइम्स

३२ जेष्ठ २०८०, बिहीबार १३:३९

अब्दुल खानको प्रश्न : नागरिकताको विषयमा सामूहिक आत्मदाह भए जिम्मेवारी कसले लिन्छ ?


काठमाडौं, ३२ जेठ । प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकता विषयमा सामूहिक आत्मदाह भए कसले जिम्मेवारी लिन्छ भन्दै सरकार र न्यायालयको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै जनमत पार्टीका सांसद खानले काठमाडौंको माइतीघर मण्डासहित देशभर नागरिकता पाउनुपर्ने मागसहित प्रदर्शन भइरहेको जानकारी गराउँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सोही क्रममा केही दिनअघि एक प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेको घटना स्मरण गराउँदै बैठकमा उहाँले भन्नुभयो, ‘सरकारको ध्यान कता छ ? नागरिकताबाट वञ्चितहरूले माइतीघरमा आत्महत्याको कोसिस हुँदै छ । यो रोकिएन र भोलि सामूहिक आत्मदाह भयो भने कसले जिम्मेवार लिने सरकार कि न्यायालयले ?’

‘नागरिकले नागरिकता माग्नु अपराध भए गोली हानेर लखट्न भन्दै उहाँले भन्नुभयो, के नागरिकता माग्नु अपराध हो ? यो अपराध हो भने गोली हानेर धपाउनुहोस्, नभए नेपाली हामी नागरिकलाई नागरिकता दिनुहोस् ।’ सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याए पनि न्यायालयले रोकेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले यसबारे गृहमन्त्रीको समेत जवाफ माग्नुभएको छ ।