जनता टाइम्स

३ असार २०८०, आईतवार १४:२९

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर


काठमाडौं, असार ३ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शुक्रबार राति २ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा.रत्न मणि गजुरेलले पौडेलको मुटुको चालको निगरानी भइरहेको बताउनु भयो । अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालको निगरानी भइरहेको छ। राष्ट्रपतिको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ ।’

यसअघि मुटुमा समस्या देखिएर मंगलबार बिहान राष्ट्रपतिलाई बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो । स्वास्थ्य परीक्षण सकिएपछि मंगलबार भर्ना भएका पौडेललाई बुधबार बिहान डिस्चार्ज गरिएको थियो ।

गएको वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो । उहाँको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भएको थियो । करिब दुई हप्ता लामो उपचार पछि राष्ट्रपति पौडेल वैशाख १८ गते स्वदेश फर्कनु भएको थियो ।