काठमाडौं, ९ असार । हिमालय एअरलाइन्सले शनिवारदेखि काठमाडौं–बेइजिङ नियमित उडान सुरु गरेको छ। शनिवारको प्रारम्भिक उडानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले यात्रा गरेका छन् । हिमालयको एच नाइन ६६५ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानको ७ बजेर ४० मिनेटमा गरेको हो । उक्त विमान बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने कम्पनीले जनाएको छ ।
काठमाडौं–बेइजिङ उडान अवधि ४ घण्टा ४५ मिनेटको हो । बेइजिङबाट उक्त विमान दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान तालिका छ । उक्त विमान काठमाडौंमा साँझ ६ बजेर ३० मिनेटमा अवतरण हुनेछ । ‘काठमाडौं र बेइजिङ बीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छौं। कोभिड(१९ को महामारीपछि यो रुटमा उडान पुनः सुरु हुनु महत्त्वपूर्ण छ,’ एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभएको छ ।
यो रुटको उडानले अन्तर्राष्ट्रिय बजारमा हिमालयको उपस्थितिलाई बलियो बनाउने विश्वास छ । यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्ने उहाँले बताउनुभएको छ । बेइजिङ र काठमाडौं आउजाउ गर्ने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प भइरहँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने विश्वास रहेको हिमालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।














प्रतिक्रिया दिनुहोस्