जनता टाइम्स

१४ असार २०८०, बिहीबार १८:१६

जलहरिबारे केपी ओलीसँग रोचक सवाल जवाफ


चितवन, असार १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरीका विषयमा आफूलाई जोडिएकोमा कडा आपत्ति जनाउनु भएको छ । सरकारी खर्चमा बनेका संरचनाहरूमा उदघाटन/शिलान्यास गर्नेहरुको नाम राखिनु नौलो कुरा नभएको तर सरकारले अतिरञ्जित गरेर अफवाह फैलाएको भन्दै ओलीले आपत्ति जनाउनु भयो ।

शुक्रवार चितवनमा हुन लागेको रोपाईं दिवसको कार्यक्रममा भाग लिन चितवन आउनु भएका अध्यक्ष ओलीले आज स्थानीय पत्रकारहरूसँग केहीबेर छलफल गर्नुभयो । पत्रकारहरुले उहाँलाई राजनीतिदेखि जलहरीसम्मका प्रश्नहरु सोधेका थिए भने ओलीले जवाफ दिनुभएको छ । पत्रकारले सोधेका थिए, ‘पशुपतिको जलहरीका विषयमा तपाईंको के छ ? जवाफमा ओलीले प्रतिप्रश्न गर्नुभयो, ‘जलहरीबारे तपाईं जान्न खोजेकोचाहीँ के ?’पुनः प्रश्न सोधियो, ‘त्यो विषय बाहिर आयो, जलहरी निकालियो ।‘

ओलीले जवाफ दिनुभयो, ‘एकजना मान्छेले भनेको सुनियो । सुन होइन पित्तल चढाएको हो, भ्रष्टाचार गरेको हो भनेर । एक दुई दिन त त्यसले पनि मार्केट पायो । ओहो, क्या गज्जब भेटियो भनेर सञ्चारमाध्यमलाई पनि राम्रै मौका मिलेको थियो । पछि त्यो सुनै रहेछ भन्ने थाहा भयो । त्यसपछि ११ किलो सुन कहाँ गयो ? भनेर कुरा उठ्यो । त्यो पनि तौलिएपछि थाहा भयो होला । यो मेरो विषय हो र मलाई सोध्नुभएको ?’

जलहरीबारे पुनः प्रश्न गर्दै राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यूको नाम कुँदिएको भन्ने पनि छ नि ? भन्ने भनाई आएपछि उहाँले जवाफ दिनुभयो, शिलान्यास÷उदघाटन गरेको ठाउँमा उदघाटन गर्नेको नाम लेखेको हुन्छ कि हुँदैन ? सरकारी सम्पत्तिमा बनाएका भवन आदि–इत्यादि कसका नाममा छन ? त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? वीरेन्द्र अस्पताल वीरेन्द्रको निजी खर्चबाट बनाएको हो ? अरु विभिन्न त्यस्तै‘ त्यो त मलाई थाहा हुने कुरा भएन । मैले थाहा पाउने कुरा हो त्यो ? कसकसको नाम थियो ? अर्को कुरा पशुपति विकास कोषको मान्छे थियो होला ।‘

ओलीको यो जवाफबाट पनि पत्रकारको चित्त बुझेन । फेरि सोधियो, ‘त्यसो भए यसो गर्नु स्वाभाविक हो भन्न खोज्नुभएको ?’ ओलीले जवाफ दिँदै भन्नुभयो, ‘स्वाभाविक–अस्वाभाविकको कुरा नै होइन । आफैं छानबिन गर्नुस न । मसित किन सोध्नुहुन्छ ? मैले लगेर टाँसेको हो नाम ? मलाई सोधेर टाँस्या हुन ? हल्लाका पछाडि हल्काफुल्का तरिकाले नकुदनुस । देश अप्ठेरोमा छ । गम्भीर अवस्थामा गम्भीरतापूर्वक गम्भीर विषय उठाउनुहोला । जलहरीको सम्बन्धमा भएको के रहेछ ? पित्तल चढाएको रहेछ ? ११ किलो सुन खाएको रहेछ ? खाएको भए पनि मसित सम्बन्धित हो ? मैले त पैसा दिने हो, पशुपति विकास कोषलाई ।’

पत्रकारले फेरि त्यसो भनेर सरकार प्रमुख पन्छिन पाइन्छ र ? भन्ने प्रश्न गरेपछि ओलीले मजाक गर्नुभयो । अनि सोध्नुभयो, ‘अच्छा, अनि यहाँ (चितवनमा) रिक्सा दुर्घटना भयो भने प्रचण्ड जिम्मेवार हुने ?

पत्नी राधिका शाक्यसहित रोपाई दिवसमा सहभागी हुन आउनु भएका एमाले अध्यक्ष ओलीलाई एमाले पोलिटब्यूरो सदस्य तथा चितवन इञ्चार्ज पार्वत गुरुङ, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलगायतका नेताहरुले भरतपुर बिमानस्थलमा स्वागत गर्नुभयो ।