काठमाडौं, असार १७ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गा व्यक्तिका नाममा सार्दा २२ रोपनी जग्गा घुस दिइएको तथ्य उजागर भएको छ । ललिता निवासको जग्गा किर्ते कागजात खडा गर्ने बिचौलिया तथा कर्मचारीले घूसबापत २२ रोपनी जग्गा लिएको तथ्य नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को अनुसन्धानले उजागर गरेको हो ।
विसं ०२१ मा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन सरकारले नेपाली कांग्रेसका नेता सुवर्णशमशेरको परिवारको स्वामित्वमा रहेको हदबन्दीभन्दा बढी जग्गा मुआब्जासमेत दिएर अधिग्रहण गरेको थियो, तर नक्कली कागज खडा गरेर ०४९ सालमा ११२ रोपनी ४ आना जग्गा व्यक्तिका नाममा सारिएको थियो । कांग्रेस नेतृत्वको सरकारले यस्तो काम गरेको हो ।
०४६ को परिवर्तनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको सरकारले ०४७ वैशाखदेखि साउनसम्मका विभिन्न निर्णय गर्दै पञ्यायतले जफत गरेका जग्गा काननुअनुसार फिर्ता गर्ने निर्णय गरेको थियो । यो निर्णयअनुसार सुवर्णशमशेर परिवारको १४ रोपनी ११ आना जग्गा फिर्ता हुनुपर्ने थियो, तर यही मेसोमा सलबलाएका भूमाफियाहरूले नक्कली कागज बनाएर भूमिसुधार लागू हुँदा मुआब्जा दिएर सुवर्णशमशेर परिवारबाट अधिग्रहण गरिएको ११२ रोपनी ४ आना जग्गा व्यक्तिका नाममा सारेका थिए । सरकारी जग्गा व्यक्तिका नाममा सार्ने यो योजनामा मिलेमतो गरेका भूमाफिया र कर्मचारीले घूसबापत २२ रोपनी जग्गा लिएका हुन ।
सरकारी जग्गा सुवर्णशमशेरका परिवारलाई दिलाएबापत ०४९ मा मालपोत, नापी, गुठीलगायत कार्यालयका कर्मचारी र बिचौलियाले जग्गा नै घूस लिएको तथ्यसीआईबीको अनुसन्धानले खोलेको छ । सुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशेर राणाले प्रहरीमा दिएको बयानबाट पनि यसको पुष्टि हुन्छ । राणाको ०७८ भदौ २६ मा निधन भयो, त्यसअघि सिआइवीले उहाँसँग पटक–पटक सोधपुछ गरी लिखित कागज पनि गराएको थियो । ‘सरकारका नाममा गएको ललिता निवासको जग्गा फिर्ता आउने विश्वास दिलाएका कारण काम भइसकेपछि कर्मचारीहरूलाई जग्गा बकस पास गरेर दिएका हौं,’ राणाको बयानमा भनिएको छ, ‘सम्बन्धित कर्मचारीले भनेअनुसारका विभिन्न व्यक्तिलाई बकस पास गरिदिएका हौं ।’
पछि सहसचिव र निर्वाचन आयुक्तबाट अवकाश पाउनु भएका सुधीरकुमार शाह तीन दशकअघि भक्तपुर मालपोतका अधिकृत हुनुहुन्थ्यो । त्यहीं कार्यरत छँदा उहाँले ललिता निवासको जग्गा हडप्न भूमिका खेलेबापत पाएको ५ रोपनी २ पैसा २ दाम जग्गा पत्नी उर्मिलाका नाममा पास गराउनु भएको पाइएको छ । त्यो जग्गा पछि भूमाफियाहरूलाई बेचिएको थियो । जग्गा लिएकी उर्मिला शाहसँग पनि ब्युरोले बयान लिएको थियो । उहाँले पनि राणा परिवारबाट के–कसरी जग्गा आएको हो भन्ने आफूलाई विस्तृत जानकारी नरहेको बताउनु भएको छ ।
ब्युरोले गत मंगलबार शाह र डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख (सहसचिव) कलाधर देउजासहित ७ जनालाई पक्राउ गरेको छ । देउजा पनि जग्गा घूस लिनेमध्येका एक हुन । उहाँले मालपोतकै अरू तीन जना कर्मचारीसहित आफन्तका नाममा सगोलमा ४ रोपनी २ आना २ पैसा घूस लिएको पाइएको छ ।डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख मुकुन्द आचार्यले ससुरा वैकुण्ठ शर्मा रेग्मीका नाममा राणा परिवारबाट १ रोपनी बकस पास गराएको पाइएको छ ।
आचार्यको निधन भइसकेको छ । यस्तै मालपोतकै अर्का तत्कालीन प्रमुख प्रेमबहादुर खापुङले पत्नी खिमादेवी आङबुहाङ र भिनाजु मोहनप्रसाद भट्टराईका नाममा १ रोपनी १४ आना २ पैसा संयुक्त रूपमा बुझेको पाइएको छ । खापुङले बुहारी (सालाकी श्रीमती) शशिकला सुब्बाका नाममा १ रोपनी ३ आना थप जग्गा लिएको कागजातले देखाएको छ ।
राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारीले ३१ वर्षअघि योजना आयोगमा कार्यरत रहँदा राणा परिवार, भूमाफिया र भूमि प्रशासनका कर्मचारीसँगको साँठगाँठमा पत्नी भुवनकुमारी चापागाईं र सासू सोदाकुमारी चापागाईंका नाममा १० आना जग्गा बुझेका थिए । पूर्वप्रमुख जिल्ला अधिकारी पनि रहेका उनले सहसचिव (गृह मन्त्रालय) बाट अवकाश पाउनु भएको थियो ।
मालपोत कार्यालय डिल्लीबजारका नासु जगतप्रसाद पुडासैनी, मालपोत प्रमुख कलाधर देउजा, मालपोतका अधिकृत सुरेन्द्रमान कपाली र खरिदार युक्तप्रसाद श्रेष्ठले आफन्तका नाममा ४ रोपनी २ आना २ पैसा संयुक्त पास गराउनु भएको थियो । पुडासैनीले दिदी मीठुदेवी चापागाईं, देउजाले साढुभाइ इन्द्रबहादुर थापा क्षेत्री, कपालीले भतिजा–बुहारी शान्तिदेवी मल्ल प्रधानांग र श्रेष्ठले पत्नी सरस्वतीकुमारी श्रेष्ठका नाममा जग्गा घूस लिएको पाइएको छ । उहाँले बहिनी निर्मलादेवी श्रेष्ठका नाममा पनि छुट्टै १ रोपनी १३ आना जग्गा बुझ्नु भएको थियो । ब्युरोले बयान लिएको केही दिनपछि ०७६ साउन १२ मा युक्तप्रसादले काठमाडौंमै एक घरको छतबाट हामफालेर आत्महत्या गरेका थिए ।
मालपोतका अर्का अधिकृत धर्मप्रसाद गौतमले समरजंग कम्पनीका नाममा रहेको जग्गा गुठीका नाममा कायम गरेर व्यक्तिको बनाउने निर्णय गरेका थिए । त्यसबापत राणा परिवारबाट नाजायज लाभ लिएका गौतम पनि गत मंगलबारै पक्राउ परिसकेका छन ।
समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोदप्रसाद पौडेलले श्रीमती विद्या गौतम पौडेलका नाममा १४ आना जग्गा बुझेका थिए । पञ्चायतकालमा राणा परिवारबाट कानुनबमोजिम अधिग्रहण गरिएको जग्गा संरक्षण गर्न सरकारले समरजंग कम्पनीको स्वामित्व र रेखदेखमा राखेको थियो । बहुदल आएपछि सोही कार्यालयका कर्मचारीको समेत संलग्नतामा जग्गा हडपिएको थियो । राणा परिवारले सरकारबाट आफ्नो नाममा जग्गा आएपछि बिचौलियाद्वय रामकल्याण अधिकारी र रामनाथ घिमिरेलाई पनि क्रमशः २ रोपनी १२ आना र ३ रोपनी ४ आना जग्गा दिएको भेटिएको छ ।
यसरी सरकारी जग्गा तत्कालीन भोगाधिकारीका नाममा लैजान कर्मचारी र बिचौलियाले सरकारका निर्णयको अपव्याख्या र भूमि प्रशासनका कागजात किर्ते मात्र होइन, सक्कली फाइल नै नष्ट गरेर नयाँ फाइल खडा गरेका थिए । यसरी खडा गरिएका दुईवटा मिसिल ‘१०२४ र १०२५’ गायब छन् भने घूसबापत लिएको जग्गा उनीहरूले अरूकै नाममा बिक्री गरिसकेका छन । हाल ७३ जनाका नाममा जग्गा कायम रहेको प्रहरी अनुसन्धानमा देखिएको छ । यो प्रकरणमा मुछिएकामध्ये ०४९ यता नेता, कर्मचारी, बिचौलिया र तत्कालीन भोगाधिकारीमध्येका २८ जनाको मृत्यु भइसकेको छ । किर्ते गरेर तयार पारिएको मालपोतको मिसिल गायब बनाएको कसुरमा पछिल्लो पटक गत मंगलबार मालपोतका तत्कालीन कर्मचारी गोपाल कार्की पक्राउ परेका छन ।













प्रतिक्रिया दिनुहोस्