काठमाडौं, असार १७ । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले आज हड्ताल गरेका छन् ।
नासु प्रेमिकामाथि हातपात गरेको आरोप लागेका वकिल लामिछाने प्रहरी हिरासतमा रहे पनि कर्मचारी संघ संगठनहरुको हड्ताल गरेका हुन । कर्मचारीको हडतालका कारण सेवाग्राहीले भने दुःख पाएका छन । कर्मचारी संगठनको हड्ताल र महिला कर्मचारीमाथि हातपातको प्रचारले घटनाको वास्तविकता ओझेलमा परेको भन्दै उच्च बार पाटन र ललितपुर जिल्ला बारले भने वक्तव्य नै निकालेर ‘वारदात’ को बेलाको सीसीटीभी फुटेज सार्वजनिक गर्न अदालत प्रशासनलाई चुनौती दिएका छन् ।
कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारीले आइतबार दिउँसो साढे १ बजेसम्म काममा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएका हुन । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भएको जानकारी दिनुभयो ।
ललितपुर जिल्ला अदालतमा गत असार १३ गते भएको घटनामा सबैभन्दा पहिले कर्मचारी प्रेमिका तामाङले कानून व्यवसायी लामिछानेमाथि हातपात गरेको बारको दाबी छ । बारले विज्ञप्तिमा भनेको छ, ‘अधिवक्ता लामिछानेले आफ्नो पक्षको मुद्दामा भएको आदेशको जानकारी लिने क्रममा फाँटवाला कर्मचारी प्रेमिका तामाङसँग अनुरोध गर्दा निजले आदेश हेर्न नदिएपछि सो विषयमा अदालतका श्रेष्तेदारसँग समेत अनुरोध गरेपछि निज कर्मचारीलाई आदेश हेर्न दिनुस् भन्दा आवेशमा आई कानून व्यवसायीलाई अपशब्द प्रयोग गरी हातपात गरेपछि कानून व्यवसायीले सामान्य प्रतिरक्षा गरेको विषयलाई अदालत प्रशासनले सीसीटीभी फुटेजको आधारमा विवादको टुंगो लगाउनुपर्नेमा कानून व्यवसायीलाई प्रहरी प्रशासनको जिम्मा लगाउने कार्य प्रति बार एशोसियसन घोर भत्र्सना गर्दछ ।’
जिल्ला बार ललितपुरले घटनाको सीसीटीभी फुटेज हेरी थप प्रक्रिया अघि बढाउन आग्रह गर्दा अदालत प्रशासनबाट सीसीटीभी रेकर्ड बिग्रिएको जवाफ आएको भन्दै गम्भीर प्रश्न उठाएको छ ।












प्रतिक्रिया दिनुहोस्