जनता टाइम्स

१७ असार २०८०, आईतवार १३:४३

मिटरब्याजी प्रकरणमा उच्च पदस्थ कर्मचारी-प्रहरी र ठूला नेताहरूको संरक्षण छ : पदम गिरी


काठमाडौं, असार १७ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताउनु भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै गिरीले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठूला नेताहरू भएको ठोकुवा गर्नुभएको हो । उहाँले सो प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरू संलग्न रहेको बताउनु भयो । मिटरब्याजविरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उहाँले बताउनु भयो ।

‘मिटरब्याजीको प्रकरण धेरै गम्भीर विषय हो । यसमा राष्ट्रसेवक, उच्च पदस्थ कर्मचारी संलग्न छन । राजनीतिक दलका ठूला नेताहरूको संरक्षणमा यी कामहरू भएका छन,’ गिरीले भन्नुभयो, ‘प्रहरीका उच्च अधिकारीहरू संलग्न छन् । सामन्तवादको अवशेषको रुपमा अहिले पनि छ । त्यसकारण यसका विरुद्धमा राम्रो नीति, ऐन बन्नुपर्छ ।’ मिटरब्याजपीडितहरूलाई न्याय दिन र पीडकहरूलाई कारबाही गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनु भयो ।

‘आज सरकारले मिटरब्याजपीडितहरूलाई न्याय दिन होइन । झुक्याउनका लागि यो विधेयक सदनमा पेस गरेजस्तो गर्दैछ । पीडितहरूप्रति न्याय दिने इमानदारिता देखिएको छैन भन्ने कुरा यसले पुष्टि गर्छ,’ गिरीले भन्नुभयो, ‘राष्ट्रिय सभाले फास्ट ट्याकमा पास गर्यो । अहिले प्रतिनिधिसभामा आएको छ । सांसदको हातमा आजसम्म पनि यो विधेयक छैन । हामीले वैचारिक, सैद्धान्तिक छलफल गर्दै छौं । चाहिने डकुमेन्ट हामीसँग छैन तर पनि छलफलमा बस्नुपर्ने अवस्था छ ।’

उहाँले प्रतिनिधिसभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजपीडितलाई न्याय दिनका लागि नभई झुक्याउनका लागि ल्याइएको आरोप लगाउनु भयो ।