जनता टाइम्स

१९ असार २०८०, मंगलवार १६:३६

ललिता निवास प्रकरण : किर्तेसँगै संगठित अपराधमा पनि अनुसन्धान गर्न अदालतको अनुमति


काठमाडौं, असार १९ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) लाई ललिता निवास प्रकरणमा संलग्नविरुद्ध किर्तेका अलावा संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो । गत साता ब्युरोले ललिता निवास प्रकरणमा जोडिएकाविरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी महलमा अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको थियो । त्यसयता सिआइवीले ९ जना आरोपीलाई पक्राउ गरिसकेको छ ।

अदालतको अनुमतिसँगै अव आरोपितहरूलाई कीर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न बाटो खुलेको छ । किर्तेमा २५ दिनभित्र अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा पुर्याइसक्नुपर्छ । संगठित अपराधमा भने अनुसन्धान गरी मुद्दा लैजान ६० दिनको समय उपलब्ध हुन्छ । अदालतले यो अनुमतिसहितसात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।