जनता टाइम्स

१९ असार २०८०, मंगलवार १९:०५

राष्ट्रपति पौडेलले देश र जनतालाई प्रमाणित ढाँटेको पुष्टि, परराष्ट्रको एउटै पत्रले पारिदियो नांगेझार


काठमाडौं, असार १९ । राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनतालाई ढाँटेको पुष्टि भएको छ । भारतमा गरिएको उपचार खर्च आफै बेहोर्ने चहना भन्दै सहयोगीमार्फत बिज्ञप्ती जारी गराउनु भएका राष्ट्रपति पौडेलको उपचार खर्च उपलब्ध गराउन भन्दै परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखालाई पत्र पठाएपछि राष्ट्रपतिले ढाँटेको तथ्य प्रमाणित भएको हो ।

राष्ट्रपति पौडेलले मेडिकल बोर्डको सिफारिशबिनै भारतमा उपचारका लागि एअर एम्बुलेन्समार्फत जानुभएको थियो । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थ मन्त्रालयलाई सोमवार पत्र पठाएको छ ।

राष्ट्रपति पौडेललाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो । चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले अर्थलाई लेखेको पत्रमा उल्लेख छ ।

‘राष्ट्रपतिको उपचारका लागि भएको खर्चको बिल भर्पाइ बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि रु ५५ लाख २ हजार २ सय ७९ रुपैया तपशिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई लेखी पठाउन मिति २०८०-३-१८ को निर्णय (सचिव स्तरीय) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरु यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध छ,’ परराष्ट्रले पठाएको पत्रमा भनिएको छ । कागजातका रुपमा सम्माननीय राष्ट्रपतिको उपचारलगायत अन्य खर्च उल्लेख छ ।

राष्ट्रपति पौडेल मेडिकल बोर्डको सिफारिशबिनै भारत गएको कारण उहाँको उपचारका लागि राज्यकोषबाट एक रुपैया पनि खर्च गर्न मिल्दैन । तर राष्ट्रपति पौडेलको उपचार खर्च गैरकानूनी रुपमा भए पनि गर्नैपर्ने दवाव अर्थका अधिकारीमाथि परेको हो । यसअघि चर्काे बिरोध भएपछि राष्ट्रपति पौडेलले प्रेस संयोजक खीला कार्कीको नाममा प्रेस नोट जारी गराउँदै आफै तिर्नै चाहना राखेको घोषणा गरिएको थियो ।

कार्कीले बैशाख १९ गते जारी गरेको प्रेस नोटमा भनिएकोथियो, ‘भारतको एम्स अस्पतालमा उपचारको क्रममा भएको खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’ अर्थमा उपचार खर्चको ताकेता पत्र आएसँगै राष्ट्रपतिले जानाजान ढाँटेको तथ्य उजागर भएको हो ।