जनता टाइम्स

२१ असार २०८०, बिहीबार २१:२६

नियुक्तिलगत्तै कोशीका मुख्यमन्त्री थापाले गरे सभामुखले सरकार गठनमा हस्ताक्षर गर्न नमिल्ने घोषणा


विराटनगर, असार २१ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बाबुराम गौतम सभामुख नरहेको घोषणा गर्नुभएको छ । सरकार गठनका लागि दाबी पेश गर्ने क्रममा प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको भन्दै उहाँ सभामुख नरहेको घोषणा थापाले गर्नुभएको हो ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका थापाले मुख्यमन्त्रीमा दाबी गर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका साथै सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थियो ।

मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सभामुखलाई विवादमा पार्ने काम आफूहरुले नगरेको भन्दै गौतम सभामुख नभएको बताउनु भयो । ‘उहाँ सभामुख होइन, प्रदेशसभा सदस्य हो । ९३ जना प्रदेशसभा सदस्यमा बाबुराम गौतम पनि हो’, थापाले भन्नुभयो, ‘हामीले सभामुख होइन, प्रदेशसभा सदस्यको समर्थन लिएका छौं, सरकार गठनमा सभामुखले पो हस्ताक्षर गर्न मिल्दैन तर प्रदेशसभा सदस्यले मिल्छ । ।’