विराटनगर, असार २२ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले शपथ लिएकै दिन मन्त्रिपरिषद् विस्तारमा चरम विवाद देखिएको छ ।
संबिधानबिपरित मुख्यमन्त्री नियुक्त गरेपछि नेकपा एमाले र राप्रपाले बहिष्कार गरेकै अवस्थामा गठबन्धनबीचको विवादका कारण शपथग्रहण समारोहमा नेकपा माओवादी पनि अनुपस्थित भएको छ । मुख्यमन्त्री उद्धव थापाले पहिलो चरणमा गठबन्धन दलबाट एक–एक जना मन्त्री नियुक्तिको तयारी गर्दै पहिलो चरणमा जीवन आचार्य नियुक्ति गर्न लागेपछि माओवादीमै बिवाद देखिएको छ ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार थापाले आचार्यलाई शपथ गराउन लाग्नुभएको थियो । प्रचण्डका ज्वाइँसमेत रहनुभएका आचार्यलाई भन्दा सिनियर दुर्गाप्रसाद चापागाईंलाई मन्त्री बनाउन माओवादी कोशी प्रदेश कमिटीले भनेपछि जीवनको शपथ पनि रोकिएको छ ।
माओवादीले पहिलो चरणमै पार्टीबाट २ जना मन्त्री बनाउनुपर्ने अडान राखेको थियो । तर, गठबन्धनमा छलफल नभएको भन्दै मुख्यमन्त्री थापाले अस्वीकार गर्नुभयो । सोही कारण माओवादीले मन्त्रीको नाम नै पठाएन । यसअघि हिक्मत कार्की नेतृत्वको सरकारमा चापागाई र आचार्य दुवै मन्त्री हुनुभएको थियो ।
बिवादबीच मुख्यमन्त्री थापाले कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जबेगुलाई मन्त्री बनाउनु भएको छ । नेकपा एमालेले संबिधानबिरोधी हर्कत स्वीकार नगर्ने भन्दै शपथग्रहरण समारोह बहिष्कार गरेको छ । असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै एमालेले शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको जनाएको छ ।
‘सभामुखको हस्ताक्षरसहित बनेको सरकार पूर्णतया असंवैधानिक हो असंवैधानिक सरकारको कार्यक्रममा एमाले जाँदैन,’ एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेबतीरमण भण्डारीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्