काठमाडौं, २२ असार । बूढीगण्डकी हाइड्रो पावर प्रालिले गोरखामा निर्माण गर्न लागेको ४.५ मेगावाटको सुपर माछाखोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । हिजो नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौतामा प्राधिकरणको तर्फबाट सूचना प्रविधि तथा योजना अनुगमन निर्देशनालयका उप–कार्यकारी निर्देशक प्रदीपकुमार थिके र हाइड्रो कम्पनिका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले हस्ताक्षर गर्नुभएको हो ।
गोरखाको धार्चे गाउँपालिकामा निर्माण हुने उत्तः आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को समेत संलग्नता रहेको कम्पनीले जनाएको छ । नदीको प्रहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन बहाव २.०४ घनमिटर प्रतिसेकेन्ड र कूल हेड २२८ मिटर रहने अध्ययनले देखाएको छ ।
आयोजनाबाट वार्षिक करिब २५.९९१ मेगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाको बाँधस्थलको संरचनाहरू माछा खोलाको बायाँ किनारामा प्रस्ताव गरिएको छ भने विद्युतगृह दायाँ किनारमा प्रस्ताव गरिएको छ । विद्युतगृह नजिकै स्वीच्यार्ड निर्माण गरिने र ३४ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत प्रस्तावित सल्यानटार सबस्टेसनमा उत्पादित विद्युत जोडिनेछ । उक्त आयोजना सम्पन्न पश्चात २०८५ असार २० गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको बूढीगण्डकी हाइड्रो पावर प्रालिले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्