जनता टाइम्स

२३ असार २०८०, शनिबार १४:४७

ऋण तिर्नु पर्दैन भन्ने अभियानका कारण सहकारी संस्थाहरुमा जोखिम बढ्यो


बारा, २३ असार । लघुवित्त र सहकारीको ऋण तिर्नु पर्दैन भन्ने अभियानले बाराका सहकारी संस्थाहरुमा समेत नकारात्मक प्रभाव पारेको सहकारीकर्मीहरुले बताएका छन् । सो गलत अभियानका कारण जिल्लाका अधिकांश सहकारी संस्थामा ठुलो परिणाममा ऋण भाखा नाघेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले बताउनुभयो । जिल्लाका १६ वटा साना किसान कृषि सहकारी संस्थाहरु र १ सय ५० को हाराहारीका बचत तथा ऋण सहकारी संस्थाहरुमा यस्तो प्रभाव परेको हो ।

उहाँका अनुसार भाखा नाघेको ऋणको अनुपात १५ प्रतिशत सम्म पुगेको छ । जबकी यस्तो ऋण ५ प्रतिशत भन्दा कमै रहेको राम्रो मानिन्छ । अध्यक्ष सहनीले भन्नुभयो,‘गलत हौवाको पछाडी लाग्ने सदस्यहरुको कारण सहकारीमा ऋण जोखिम बढेको हो, सदस्यहरुको बचत रकम नै ऋणका रुपमा परिचालन हुने हुँदा कहीँ कसैले मिनाह गर्ने कुरा हुँदैन तरपनि मानिसहरु भ्रममा परेर ऋणमा डुविरहनु भएको छ ।’

यसै सन्दर्भमा छलफल गर्न विहिबार संघको जितपुर सिमरा उप–महानगरपालिकाको वडा नं.१५ डुमरवानमा बसेको बैठकले ऋण तिर्नु पर्दैन भन्ने अभियानलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । यस अभियानका कारण सहकारी संस्थाहरुले लगानी गरेका कर्जा असुलीमा नकारात्मक असर परेको भन्दै गलत अभियान संचालन गर्ने उपर कारबाही गर्न माग गरेको छ ।

गलत अभियान संचालन गरेर सामाजिक आर्थीक संरचनामा समस्या ल्याउने प्रयास भएको छ । यसर्थ जिल्ला प्रशासन कार्यालय बारा र पालिकाहरु मार्फत त्यस्ता ब्यक्तिहरुको पहिचान गरी कार्वाहीका लागि अनुरोध गर्ने निर्णय भएको संघका सचिव रामएकवाल चौधरीले जानकारी दिनुभयो । बारामा करिब ४५ हजार घरपरिवार सहकारीमा आवद्ध छन् ।

झण्डै १५ अर्ब बराबरको कारोबार सहकारीहरुले गरिरहेका छन्, उहाँले भन्नुभयो । सहकारी संस्थाहरुबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने गलत अभियान संचालन गर्नेहरुलाई राज्यले कार्वाही गर्नुपर्ने बारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यन्द्र ठाकुरले बताउनुभयो । राज्य मुखदर्शक बन्दा यस्ता अभियानकर्मीले समाजमा आर्थिक कठिनाई उत्पन्न गरिरहेका उहाँको भनाई छ ।