काठमाडौं १ साउन । अधिकमासलाई मालमास तथा पुरुषोत्तम मास पनि भनिन्छ । अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ । अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् ।
यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू छैनन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा, अन्नप्राशन, नामाकरण आदि यो समयमा गर्न हुने ज्योतिष तथा धर्मशास्त्रमा उल्लेख गरिएको छ । यो वर्ष अर्थात् २०८० सालमा श्रावण २ गतेदेखि ३१ गतेसम्म अधिकमास रहेको छ।
अधिकमास कसरी बन्दछ ?
सौर्यमण्डलमा रहेका ग्रहहरु सबैको बेग्ला-बेग्लै गति रहेको छ । कुनै ग्रहहरु निकै छिट्टो हिँड्दछन् भने कुनै निकै कमको गतिमा हिँड्दछन् । त्यही ग्रहहरुको आधारमा नै हरेक कार्यहरुका साइतहरुदेखि लिएर मानिसको जन्म कुण्डली पनि हेर्ने गरिन्छ । हामीले कामकाजका लागि प्रयोग गर्ने गते र तारिखहरु सूर्यको गतिको आधारमा गणना गरिन्छ ।
यही सूर्यको आधारमा नै ३६५ दिनमा हाम्रो एक वर्ष हुन्छ भने चन्द्रमाको अर्थात् तिथिको गणना अनुसार ३५४ दिनमा १ वर्ष हुन्छ । यसरी विचार गर्दा सूर्य र चन्द्रमाबीच १ वर्षको अवधीमा लगभग ११ दिनको फरक आउँछ । २ वर्षमा सूर्य र चन्द्रमाबीच २२ दिन र ३ वर्षमा ३३ दिनको फरक पर्दछ । अधिकमास परेको तेश्रो वर्षमा सूर्यको गणना अनुसार १२ वटा मात्र महिना भएपनि चन्द्रमाका आधारमा भने १३ वटा महिना हुन जान्छ । यही सूर्य र चन्द्रमाको गतिको व्यालेन्स मिलाउन नै प्रत्येक ३/३ वर्षमा मलमास पर्ने गर्दछ ।
मलमास जुनसुकै महिनामा पनि पर्न सक्छ । मलमास कुन महिनामा पर्छ भन्ने प्रमाण “ज्योतिःसारशिरोमणिमा” यसरी बताइएको छ –
असंक्रान्तिमासोऽधिमासः स्फुटंस्याद् द्विसंक्रान्तिमासःक्षयाख्यःकदाचित् ।
क्षयःकार्तिकादित्रये नान्यतः स्यात्तदावर्षमध्येऽधिमासद्वयञ्च ।।
अमावस्याद्वयं चैव प्रतिपच्चत्रयं त्रयम् ।
मलमासेन विज्ञेया पराशरवचो यथा ।।
अर्थात्, यदि कुनै पनि महिनाको एउटा औँशीदेखि अर्को औँशीको बिचमा संक्रान्ति परेको छैन भने, त्यस २ औँशीको बिचको समयलाई मलमास भनिन्छ । धर्मशास्त्रहरुमा सूर्य संक्रान्ति नपरेको महिनालाई अशुद्ध र दोषयुक्त मानिएको हुनाले यसलाई मलमास भनिएको हो । त्यस्तै यदी एउटै चान्द्रमासमा अर्थात् एउटा औँशीदेखि अर्को औँशीको बीचमा २ वटा संक्रान्ति परेमा त्यस महिनालाई क्षयमास भनिन्छ । क्षयमास परेको महिनामा अघि र पछि २ वटा अधिक मास पनि पर्दछ ।
दिनहरु लामो हुने महिनामा अधिकमासहरु हुने संभावना बढी हुन्छ । त्यसकारण प्रायःजसो फागुनदेखि असोजसम्मका महिनाहरुमा नै अधिकमास पर्दछ । क्षयमास कात्तिक, मंसिर र पुष महिनामा मात्र पर्छ । तर क्षयमास मलमासको तुलनामा निकै कम पर्दछ । मलमास र क्षयमासको निर्णय चान्द्रमासबाट नै लिनुपर्छ, सौरमासबाट लिनु हुँदैन । सौरमास अनुसार मलमास हुने भए संक्रान्ति पनि १३ वटा हुनुपथ्र्यो ।
तर संक्रान्ति १२ वटा मात्र नै हुन्छ । शक्लपक्षको प्रतिपदादेखि कृष्णपक्षको औँशी सम्मको अवधि नै मलमास हुने भएकाले चान्द्रमासबाट नै मलमासको निर्धारण हुन्छ भन्ने कुराको प्रमाण पुग्दछ । सौरमास र चन्द्रमासको बीचअन्तरहरु बढ्दै जाँदा हरेक तीनवर्षमा एक महिना पुग्छ र अधिकमास बन्दछ । “सिद्धान्त शिरोमणि”मा अधिकमासको बारेमा धेरै कुराहरुको जानकारी दिइएको छ भने ज्योतिः सारशिरोमणि”नाम गरेको ज्योतिषग्रन्थमामलमास संबन्धि वशिष्ठ ऋषिको मतलाई राखिएको छ ।
द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा ।
घटिकानां चतुष्केण पतत्यधिकमासकः ।।
अर्थात् सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्दछ । अन्य महिनाहरुभन्दा यस महिनामा गरेको भजन कीर्तन र सत्संगको महिमा ठूलो छ भन्ने कुरा पुरुषोत्तम माहात्म्यको कथामा उल्लेख गरिएको छ ।
अधिकमासमा कस्ता कार्य गर्नु हुँदैन ?
अधिकमासमा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, बधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तक कर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलोपटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूर्त चिन्तामणि मा बताइएको छ ।
‘वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठेव्रताऽ
रम्भोत्सर्गबधूप्रवेशनमहादानानि सोमाष्टके ।
गोदानाग्रयण–प्रपा–प्रथमकोपाकर्म वेदव्रतम् ।
नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् ।।
दीक्षा–मौञ्जि–विवाहमुण्डनमपूर्वं देवतीर्थेक्षणम् ।
सन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाऽभिषेकौ गमम् ।
चातुर्मास्यसमावृती श्रवणयोर्वेधं परीक्षां त्यजेद् ।
वृद्धत्वास्तशिशुत्व इजय(सितयोन्र्यूनाधिमासे तथा ।।’ (मुहूर्तचिन्तामणि)
यसैगरी गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ :–
‘न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ ।
अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः ।
तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।।’ (वायुपुराण)
अर्थात् अधिकमासमा गयाश्राद्ध र गोदावरी यात्रावाहेक अन्य यात्रा नगर्नू भनिएको छ । प्रमादवश गरेमा अनिष्टफल भोग्नुपर्ने कुरा मुहूर्तचिन्तामणिको पीयूषधारा टीकामा उल्लेख गरिएको छ ।
कस्ता कार्य अधिकमासमा गर्नु हुन्छ ?
अधिकमासमा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदैआएका व्रत उपासना पनि रोकिँदैनन् । यसैगरी नैमित्तिक कर्मअन्तर्गत अइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, आदि कर्म गर्न सकिन्छ । यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ ।
बृहस्पतिको वचनअनुसार–
‘मासप्रयुक्तकार्येषु मूढत्वं गुरुशुक्रयोः ।
नदोषकृन्मलो मासो गुर्वादित्यादिकं तथा ।।’
अधिकमासमा सीमन्तोन्नयन, जातकर्म, अन्न प्राशन कार्य पनि गर्नु हुन्छ दोष लाग्दैन भनी बताइएको छ –
‘सीमान्तजातकादीनि प्राशनान्तानि यानि वै ।
न दोषो मलमासस्य मौढ्यस्य गुरुशुक्रयोः ।।’ (मुहूर्तचिन्तामणि पीयूषधारा टीका)
नित्य कर्म, ग्रहशान्ति, नैमित्तिक कर्म अन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्ति कर्म, गयाश्राद्धादि कार्य अधिकमासमा गर्दा कुनै दोष नलाग्ने कुरा शास्त्रले बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्