काठमाडौं, साउन १ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणको अनुसन्धानमा संलग्न राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीबीच फरक फरक व्यवहार भएको भन्दै सचिवहरूले कडा असन्तुष्टि जनाएका छन ।
अनुसन्धानका क्रममा प्रहरीबाट कर्मचारीमाथि भएको व्यवहारबाट प्रशासनमाथिको विश्वसनियतामा नै गिरावट आउन लागेको सचिवहरूले आपत्ति जनाएका हुन ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सचिवहरूको बैठक बसेको थियो । मुख्यसचिव बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकमा कर्मचारीतन्त्रप्रतिको विश्वसनीयता खस्किन लागेको र ललिता निवास प्रकरणमा संलग्न कर्मचारी र राजनीतिक नेतृत्वलाई अनुसन्धान गर्ने निकाय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरक–फरक व्यवहार भएको भन्दै सचिवहरूले असन्तुष्टि जनाएका थिए ।
ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि कर्मचारीहरूबीच अब के र कसो हुने हो भन्ने त्रास रहेको बताए । सचिवहरूको बैठकमा यस्तो व्यवहारले कर्मचारीतन्त्र र प्रहरी प्रशासनबीच वैमनश्यता आउने हो कि भन्ने आशंका समेत गरेका छन । सचिव राउत पक्राउ परेपछि सहसचिव, उपसचिव, अधिकृत र नासुसम्मका कर्मचारीले मुख्यसचिवलाई काम गर्न अप्ठ्यारो भएको भन्दै यो अवस्थाको अन्त्य गर्नका लागि पहल लिनुपर्ने बताए । कुनै फाइल निर्णयकर्ता उपल्लो तहका व्यक्तिको आदेशमा तोक लगाएकै कारण सचिव राउतलाई पक्राउ गरिएको तर निर्णयकर्ता भने पक्राउ नपरेको भन्दै सचिवहरूले आपत्ति जनाएका हुन ।
’अनुसन्धान गर्ने निकायले पनि स्वतन्त्र अनुसन्धान गर्नुपर्यो । अनुसन्धानका क्रममा स्थापित विधि र प्रक्रिया मिलेन । व्यक्तिगत गोपनीयता भंग गरियो । समान ब्यवहार पनि भएन । संलग्न सबैलाई समान व्यवहार गर्ने कुरा नहुनु नै मुख्य अभियुक्त जोगाउने षडयन्त्र हो,’ बैठकमा अधिकांश सचिवको भनाई उधृत गर्दै एस सचिवले भने ।
बैठकमा सचिवहरूले मुख्यसचिवलाई कर्मचारी नेतृत्वले जनमानसमा परिरहेको प्रशासनिक विश्वसनीयताको ख्याल गरेर अघि बढ्नुपर्ने भन्दै नेतृत्व लिन दवावसमेत दिएका छन ।













प्रतिक्रिया दिनुहोस्