जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार ११:२०

जानकी फाइनान्सको कहिले बस्दै छ साधारण सभा ?


काठमाडौ, २ साउन । जानकी फाइनान्सले साउन १३ गते साधारण सभा बोलाएको छ । कम्पनीले २६ औं सभा डाकेको हो । यता, फाइनान्सले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । कम्पनीले गत वर्ष भने १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदै छ । यस कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि जानकीले आज देखि १३ गतेसम्म बुक क्लोज गरेको छ । साउन १ गते सोमबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।