जनता टाइम्स

३ श्रावण २०८०, बुधबार ११:५६

६०० रुपैयाँ बढ्यो सुनको भाउ


काठमाडौ, ३ साउन । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

गत असार २९ गते बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि गत असार २९ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो । चाँदीको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १० रुपैयाँ बढी हो ।