काठमाडौं, साउन ७ । भ्रष्टाचारबिरोधी अभियान चलाईरहेको दावी गर्ने सरकारले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उहाँका छोरा राहुल महरालाई सुन तस्करी सञ्जालमा रहेको प्रमाणित हुँदा पनि उन्मुक्ति दिएको पाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दवाव दिएर सुन तस्करीमा संलग्न महराका बाबुराछोरालाई उन्मुक्ति दिन लगाएको पाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष महरा र उहाँका छोरा राहुल महरा जोडिएको प्रमाण अनुसन्धानमा खुलेको थियो । ई–सिगरेट (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोराको संलग्नता पाइएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिनुभएको थियो । सिआइबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरा र उहाँका छोरा राहुल महरा सुन ल्याउने समूहमै रहेका छन ।
हेर्नाेस अनुसन्धानले फेला पारेको प्रमाण

प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर) बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो । प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा सुन ल्याउने समुह भनेर किटानीसहित महरा बाबुछोराको मोबाइल नम्बर नै उल्लेख गरिएको छ । भन्सारमा रहेको ई–सिगरेट सुन ल्याउने समूहमा चिनियाँ नागरिक लुई, वाङ दाओजिङ, श्याम शाह, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, कृष्णबहादुर महरा, राहुल महरा, अश्वीललगायतको नाम किटान गरेको छ ।
२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका एक चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप) भित्र ठुलो मात्रामा सुन लुकाएर ल्याएका थिए । त्यतिबेला भन्सार विभागले ई–सिगरेट बरामद गरेर यात्रुलाई छाडेको थियो । भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र गार्डसमेत मिलेर ई–सिगरेटमा भएको सुन निकाली करिब ९ करोड मूल्य पर्ने सुन करिब ६ करोड रूपैयाँमा बिक्री गरेका थिए ।
पुस १० मा सुन लिएर दुबई हुँदै आउने चिनियाँ नागरिक सातपटकसम्म नेपाल आएको र त्यसरी नै तस्करीमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ । सुन बेच्ने योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत रहेको प्रहरी प्रतिवेदनमा देखिएको छ । सिआइबीले बुझाएको प्रतिवेदनअनुसार विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा खड्कासँग मिलेर बस्नेतले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए । तर त्यो सुन गायब पार्नुअघि नै उनीहरूले महरा बाबुछोराको सोर्स लगाएर लिलामीमार्फत फिर्ता लैजाने कोसिस गरेका हुन ।
भन्सार विभागमा त्यो वस्तु शंकास्पद रहेपछि २०७९ माघ २९ गते प्रहरीले मुचुल्का गरी अनुसन्धानका लागि सिआइबीलाई पठाएको थियो । सिआइबीले अनुसन्धानका लागि पाउँदा दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट रहेका थिए । आगो नसल्किने उक्त सिगरेटलाई गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । पटकपटक स्क्यान गरेर बाकसमा चुरोटबाहेक अरू कुनै बहुमूल्य वस्तु नभएको ठहरिएपछि भन्सारका कर्मचारीले त्यसलाई गोदाममा थन्क्याएर राखेका थिए । सामान्यतः जफत गरिएका सामानहरू एकत्रित गरी एकदुई महिनामा लिलामीका लागि पठाउने अभ्यास रहेकाले उक्त सामान पनि करिब ५० दिनदेखि गोदाममै थियो ।
भन्सार विभागले लिलामीका लागि सामान तयार गर्दा महरा बाबुछोराले चासो राखेपछि सिआइबीलाई अनुसन्धानका लागि पठाएको थियो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दीपेश बस्नेत, गोपाल सुवेदीको सम्पर्क सुन खरिदकर्ता वेदप्रकाश अग्रवालसँग रहेको उल्लेख छ । सुन खरिद गर्ने समूहका अन्य सदस्यहरूमा गणेश बडू, साहेब राव मार्गेला, सचिन पावर, नन्दुकुमार रहेको उल्लेख गरिएको छ ।
विमानस्थलबाट सुन गायब गर्ने प्रमुख व्यक्तिमा त्रिभुवन विमानस्थल कार्यालय, गौचरको मुद्दा शाखाअन्तर्गतको गोदामको कार्य जिम्मेवारी तोकिएका नायब सुब्बा खड्का, सिन्धुपाल्चोकको सुनकोशी–६ का ३२ वर्षीय दिनेश बस्नेत, धरान उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं भोटेबहाल बस्ने ५४ वर्षीय वेदप्रकाश अग्रवाल, भारत महाराष्ट्र घर भई अहिले काठमाडौं बस्ने ३९ वर्षका साहेब राव, सिन्धुपाल्चोक सुनकोशी–६ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की, बाग्लुङको काठेखोला–३ स्थायी ठेगाना भएका र हाल पोखरा बस्ने वर्ष २२ का निर्मलकुमार विक, सिन्धुपाल्चोकको सुनकोशी–६ घर भई हाल कागेश्वरी मनहरा बस्ने वर्ष २९ का दीपेश बस्नेत र सोही ठाउँ स्थायी ठेगाना भएका र अहिले पेप्सीकोला बस्ने वर्ष ४२ का गोपाल सुवेदी पक्राउ परेका छन्।
काभ्रेको बनेपाका रामकेशव थापा भने फरार छन्। उनीहरू सबैविरुद्ध आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । सुन तस्करीमा महरा बाबुछोराको संलग्न रहेको भनी सिआइवीले नाम र मोवाइल नम्बरसहित किटानी प्रतिवेदन दिएपनि प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा बयान लिन र मुद्धा दायर गर्न रोकेको पाइएको हो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिए पनि प्रहरीले एकपटक बयानसमेत नलिई उन्मुक्ति दिएको हो । विदेशबाट तस्करीका लागि करिब नौ किलो सुन ल्याउने मुख्य मान्छे फेला परेपछि मात्रै बयान लिने भन्दै प्रहरीले महरा बाबुछोरालाई उन्मुक्ति दिएको हो । महरा बाबुछोरालाई नछुन भन्दै दिइएको प्रधानमन्त्री र गृहमन्त्रीको आदेशका कारण बयान नलिइएको र मुद्धा पनि दायर नगरिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन ।













प्रतिक्रिया दिनुहोस्