जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १७:४०

सेयर बजार ६३.३४ अंकले बढ्यो


काठमाडौ, ७ साउन । मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा निकै उत्साह देखिएको छ । यसैको सकारात्मक प्रतिक्रियास्वरुपः आज नेप्से सूचक ६३.३४ विन्दुले बढेर २२२७.१६ अंकमा आएको छ । खरिदिबिक्री रकममा पनि नयाँ माहोल देखिएको छ । यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । मौद्रिक नीतिमार्फत सेयर बजारलाई राहत दिने घोषणा गरिएको छ । जसअनुसार सेयर धितो कर्जामा विद्यमान जोखिमभार घटाइने भएको छ । यस्तै, ब्याजदर घटाउँदै जाने नीति पनि लिइएको छ ।

यही कारण आज सेयर बजारमा उत्साह थपिएको हो । यस दिन २६६ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ज्योति विकास बैंक र ग्लोलब आइएमई बैंक परेका छन् ।