काठमाडौं, साउन १२ । हङकङबाट जहाजमा भित्र्याइ भन्सार पार गराइएको करिब १ क्विन्टल सुन सिनामंगल सडकबाट बरामद हुनुअघि नै तस्कर समुहले निकै ठूलो परिमाणमा सुन तस्करी गरेको तथ्य उजागर भएको छ । उच्चस्तरीय सेटिङ मिलाएर भारत, चीन, हङकङ र नेपालमा सक्रिय संगठित गिरोहले स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन तस्करी गराएको पाइएको हो । गत असार २९ गते हङकङबाट रेडी ट्रेडका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको ८ कार्टुन सामान राजस्व अनुसन्धान विभागले भन्सार पास भएलगत्तै साउन २ गते सिनामंगलबाट बरामद गरेको थियो ।
त्यस क्रममा भन्सार एजेन्ट र ट्याक्सी चालक पक्राउ परेका थिए । राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी, चिनियाँ र भारतीय गरी २ विदेशी, थप तीन भन्सार एजेन्ट, रेडी ट्रेडका सञ्चालक र उनका आफन्तलगायत पक्राउ गरिसकेको छ । उनीहरूले दिएको बयान र संकलित तथ्य÷प्रमाणले क्विन्टल सुन बरामद हुनुअघि नै गिरोहले त्योभन्दा बढी परिमाणमा सुन भन्सारबाट बाहिर लगेको खुलेको हो ।
बरामद भएका सामान खोलेर हेर्दा करिब १ क्विन्टल सुन भेटिएपछि थप अनुसन्धान गर्ने क्रममा विभागको टोलीले कमलपोखरी, बालुवाटार, लाजिम्पाट, पानीपोखरी र ठमेलमा छापा मारेको थियो । अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार ठमेलको एक घरमा ६६ कार्टुन ब्रेक सु भेटिएकामा धेरैजसो खोक्रा मात्रै पाइएको छ । ब्रेक सुसँगै सुन जोख्ने ढक–तराजु पनि भेटिएको छ । छापाको क्रममा चिनियाँ नागरिक बसेको बालुवाटारको कोठाबाट सुन गाल्ने उपकरण पनि बरामद भएको छ ।
ती सबै ब्रेक सु रेडी ट्रेडकै नाममा भित्रिएका थिए । विमानस्थल भन्सारको अभिलेखअनुसार रेडी ट्रेडका नाममा मे १७ मा ६६ केजी, मे २१ मा ६६ केजी, मे २४ मा ६६ केजी, मे २६ मा ५२ केजी सेभर आएको छ । त्यस्तै, जुन ६ मा १ सय ३२ केजी, जुन ७ मा ६६ केजी, जुन १२ मा ६६ केजी, जुन १६ मा १ सय २ केजी, जुन १९ मा ६६ केजी, जुन २२ मा ९९ केजी आएको छ भने जुलाई ९ मा ३३ केजी, जुलाई १८ मा ३२ केजी सेभर ल्याइएको देखिएको छ । ती सामान चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको हो ।
यसैगरी मे ३१ मा ल्याइएको ६६ केजीको मेकानिकल मोटरको निर्यातकर्ता ताइवानको तालमड कम्पनी रहेको अभिलेख छ भने रेडीकै नाममा मे २४ मा ३४ केजी, मे २८ मा ३८ केजी, मे ३१ मा ३८ केजी ब्रेक सु आएको देखिएको छ । यस्तै जुन ६ मा ५७ केजी, जुन ७ मा ३९ केजी, जुन १२ मा ३८ केजी, जुन १४ मा ७८ केजी, जुन १८ मा ३८ केजी, जुन २३ मा ५८ केजी, जुन २६ मा १९ केजी, जुन २८ मा ७६ केजी ब्रेक सु भित्र्याइएको भन्सारको तथ्यांकले देखाएको छ । यस्तै, जुलाई ३ मा १ सय १४ केजी, जुलाई ६ मा ७६ केजी, जुलाई ९ मा १ सय १४ केजी, जुलाई १२ मा १ सय १६ केजी, जुलाई १८ मा १ सय ५२ केजी र जुलाई २४ मा ३४ केजी ब्रेक सु ल्याइएको देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्