जनता टाइम्स

१४ श्रावण २०८०, आईतवार १५:२६

पाँच लाख ऋण दिएर ८० लाखको घरजग्गा कब्जा, आफूले मात्रै नभएर साथीसमेत लगाई पटक-पटक बलात्कार


काठमाडौं, साउन १४ । पाँच लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा गर्नुका साथै जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरमा पुगेर पीडित महिलाले मालीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ विरुद्धको कसुरमा किटानी जाहेरी दिएकी हुन । प्रहरीका अनुसार, पीडितले मालीसँगै धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएकी छन् । पीडितका अनुसार, उनी २०७५ सालको अन्तिमदेखि ०७६ साउनसम्म पटकपटक बलात्कारको शिकार भएकी थिइन ।

पीडित महिलाका अनुसार मालीले सुरुमा आफैले बलात्कार गरेको र त्यसपछि अन्य व्यक्तिलाई भेट्न पठाएर समेत जबरजस्ती करणी गराएका थिए । तर, जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि हदम्याद नाघिसकेको भन्दै मानवबेचबिखनविरुद्धको कसुरमा मात्रै जाहेरी परेको हो । मालीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुर हाजिर गराएर आज हिरासतमा राख्न अनुमति लिइने प्रहरीले जनाएको छ ।

घटनामा अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित महिलाका अनुसार सुर्जमानले सुरुमा उनलाई आफ्नो मोटरसाइकलमा राखेर ललितपुर पाटन अस्पताल अगाडि रहेको लुम्बिनी गेष्ट हाउस पुर्याएर बलात्कार गरे । गेष्ट हाउसको दोस्रो तल्लामा रहेको कोठाभित्र लगेपछि सुर्जमानले अप्राकृतिक मैथुनका लागि दबाब दिएको र बलात्कार गरेका थिए ।

त्यसको दुई महिनापछि सुर्जमान पीडितको घरमै पुगेर धम्क्याउँदै मोटरसाइकलमा राखेर धापखेलमा रहेको उमेश भन्ने ब्यक्तिको मासु पसलमा पुर्याए । उमेशले त्यसदिन उनलाई पसलकै पछाडिपट्टी चिसो भुईंमा लडाएर बलात्कार गरेको थियो । यो उनीमाथि दोस्रोपटक बलात्कार थियो । त्यस्को केही समयपछि सुर्जमानले साथीहरु लगाएर सामुहिक बलात्कार गराएको पीडितको भनाई छ ।

बलात्कारपछि सर्जमानले वडा कार्यालयमा लगेर ५५ लाख रुपैयाँ दिएको तमसुक बनाए । वडा कार्यालयमा ५५ लाख रुपैंयाको जाली कागज गराएको करिब एक महिनापछि सुर्जमानले सपनालाई फोन गरेर आफ्नो घर बोलाएर चौथो पटक बलात्कार गरेको थियो । सर्जमानले यही पाँच लाख ऋणको बहानामा उनको ८० लाख मूल्य पर्ने घरजग्गा पनि हडपेको पीडितको भनाई छ ।