जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार १३:२९

जापानबाट फर्किएपछि ‘भुस्याहा कुकुर’को हेरचाहमा लागे चन्द्र उपाध्याय


काठमाडौं, १५ साउन । काठमाडौं उपत्यकामा ५० लाखभन्दा बढी मानिस बस्छन् । तर, दिउँसै हिँड्न पनि डर लाग्ने सुनसान थियो । सडकमा कोही निस्केको देखिँदैन थियो । एकाधपटक सुरक्षाकर्मीको सवारीसाधन हिँड्थ्यो भने टाढाकै एम्बुलेन्सका आवाज प्रष्टै सुनिन्थ्यो । मान्छे देख्दा मान्छे नै डराउनुपर्ने त्यो कोरोनाभाइरसको महामारीकालमा नेपालसँगै विश्व नै सुनसान र त्रासमा थियो । हो, यही बेला २२ वर्ष जापान बसेका चन्द्र उपाध्याय स्वदेश फर्किनुभयो । उहाँ परिवारसहित फेरि जापान जानेगरी नेपाल आउनुभयो ।

सन् १९९८ मा अध्ययन गर्न जापान जानुभएको चन्द्र पछि उतै रेष्टुरेन्ट र ग्रोसरी व्यवसायमा लाग्नुभयो । श्रीमती, दुई छोरीसहित पहिलो लकडाउनका बेला उहाँ स्वदेश फर्किनुभयो । बबरमहलस्थित आफ्नै घरमा बस्नुभयो । तर, लाखौँ मानिस बसेको काठमाडौंको बबरमहल अझै सुनसान थियो । हिँड्न डराउनुपर्थ्यो । बाल्यकाल बिताएको बबरमहल, अनि धोवीखोलोको करिडोर, उहाँ साँझ बिहान हिँड्ने गर्नुहुन्थ्यो । एकदिन धोवीखोलाको करिडोर नजिकै रहेको एक पसलको सटरअगाडि चाउचाउको कार्टुनमा चारवटा कुकुरको बच्चा देख्नुभयो ।

तर, चारवटा बच्चामध्ये एउटालाई भने कुकुरले नै खाएको देख्नुभयो । यसले उहाँको हृदयलाई छोयो, मनलाई वेचन गरायो । कोरोनाभाइरस महामारीले मानिसलाई भन्दा सडकमा छाडिएका ‘भुस्याहा कुकुर’लाई बढी पीडा रहेको महसुस गर्नुभयो । खान नपाएर कुकुरले कुकुरकै बच्चा खाएको देख्दा चन्द्रको मनमा असह्य पीडाबोध भयो । उसो त कुकुरप्रति उहाँको झुकाव बच्चा बेलादेखि नै थियो । तर, हृदयविदारक दृश्यले भने कुकुरप्रतिको जिम्मेवार बोध पनि गरायो । र उहाँले ती बाँचेका तीनवटा कुकुरका बच्चामध्ये दुईवटा आफूले ल्याउनुभयो घरमा, एउटा उहाँको साथीले लग्नुभयो ।

यहीँबाट सडकमा छाडिएका ‘भुस्याहा कुकुर’लाई बिहान बेलुका खुवाउन थाल्नुभयो । ‘लकडाउनको बेला थियो । बिहान मोर्निङवाकमा जाँदा कार्टुनमा चारवटा कुकुरको बच्चा देख्यौँ । कसैले ल्याएर छाडिदिएका रहेछन् । तर, एउटालाई भने कुकुरले खाएछ,’ उहाँ ती दिन सम्झँदै भन्नुहुन्छ,‘मन सारै अमिलो भयो । बाँचेका तीनवटामध्ये दुईवटा मैले ल्याएँ । एउटा साथीले लगे । त्यही बेलादेखि भुस्याहा कुकुरलाई बिहान–बेलुका खुवाइरहेको छु ।’ कालिकोट मस्कोट–४ का ५८ वर्षीय उपाध्यायले अहिले ११ वटा कुकुरलाई बिहानै बिस्कुट खुवाउँनुहुन्छ, त्यसपछि बिहान र बेलुका मासु र खाना खुवाउँनुहुन्छ ।

उहाँ कतै जान लाग्दा ती कुकुरहरु पछि लाग्छन् । कुकुरलाई फर्काउन उहाँलाई हम्मेहम्मे पर्छ । राप्रपाका नेतासमेत रहनुभएको उहाँ बेला–बेला आफ्नो व्यवसायबारे जानकारी लिन जापान जाने गर्नुहुन्छ । यसबेला भने उहाँलाई कुकुरको निकै चिन्ता लाग्छ । उसो त घरपरिवारका सदस्यले पनि कुकुरलाई खुवाउने गर्छन् । तर, आफ्नो मनले नमान्ने उहाँ बताउँनुहुन्छ । पूर्वमन्त्री धर्मदत्त उपाध्यायका छोरा चन्द्रलाई दैनिक कुकुरलाई खुवाउनभन्दा पनि उनीहरुलाई रेविजविरुद्धको खोप लगाउन भने समस्या भएको बताउँनुहुन्छ ।

यसबारे महानगरसहित सरोकारवालासँग कुरा गर्दा कतैबाट सुनुवाइ नभएको बताउनुभयो । ‘भुस्याहा कुकुर भएका कारण गाडीमा राखेर लैजान गाह्रो हुनेरहेछ,’ उहाँले भन्नुभयो, ‘यहीँ बोलाएर रेविजविरुद्धको खोप लगाउन काठमाडौं महानगरसहित सरोकार निकायमा जाँदा अहिलेसम्म कोही आउनु भएको छैन । खोप लगाइदिन पाए राम्रो हुन्थ्यो ।’ तीन–तीन महिनामा ती कुकुरलाई जुकाको औषधि भने खुवाउने गरेको चन्द्र बताउँनुहुन्छ । भुस्याहा कुकुरको हेरचाह गर्दा उहाँलाई परिवार र आफन्तको साथ छ ।

तर, कहिलेकाहीँ छिमेकीलाई डिस्टर्ब गर्दा उहाँहरु रिसाउँनुहुन्छ । ‘घरभित्र सबै कुकुरलाई बस्ने व्यवस्था छैन । धेरै सडकमै बस्छन् । कोही मानिस आए, कराउन थाल्छन् । त्यत्तिखेर छिमेकीहरु भुस्याहा कुकुर थुपारेको भनेर रिसाउँछन्,’ चन्द्र भन्नुहुन्छ ‘आफ्नै घरको कम्पाउन्डभित्र कुकुर बस्ने टहरो बनाउने सोचमा छु ।’ कुकुरको हेरचाह, औषधोपचार, खानपिनको सबै व्यवस्थाको खर्च आफैं एक्लैले व्यहोरेको उहाँ बताउँनुहुन्छ ।

कुकुरलाई नखुवाइ आफू खाना नखाने गरेको उहाँ बताउँनुहुन्छ । जापान फर्किने गरी काठमाडौं आउनुभएको उपाध्यायका परिवार अब स्वदेशमै बस्ने हुनुभएको छ । छोरीहरुले यतै अध्ययन गर्न थालेपछि चन्द्र एक दर्जन कुकुरको हेरचाहलाई आफ्नो दैनिक जीवनको कर्म र जिम्मेवारी बोधले उपाध्याय परिवार जापान नफर्किने निधोमा पुग्नुभएको हो । ‘अहिले पनि जापानमा रेष्टुरेन्ट र ग्रोसरी व्यवसाय छ,’ उहाँले भन्नुभयो, ‘वर्षमा एक दुईपटक जान्छु । अडिट गर्ने समयमा जाने गरेको छु । अब बच्चा यतै पढ्न थाले । फेरि कुकुरलाई पनि खुवाउन थालेँ, यसले गर्दा जापान नफर्किने भयौँ ।’