जनता टाइम्स

१८ श्रावण २०८०, बिहीबार १७:२९

ममाथि लगाइएको आरोप झुटो हो, महिलालाई देवी मान्छु : प्रस्तावित राजदूत क्षेत्री


काठमाडौं, साउन १८ । संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीले आफूमाथि महिलामाथि दुव्र्यवहार गरेको र कार्यक्षमताको विषयलाई लिएर आएका उजुरीले परराष्ट्र मन्त्रालयकै बेइज्जत गरेको बताउनु भएको छ ।

संसदीय सुनुवाइ समितिमा आज भएको सुनुवाइको क्रममा सांसदहरूले राखेको जिज्ञासामा प्रस्तावित राजदूत क्षेत्रीले यस्तो जवाफ दिनुभएको हो । संसदीय सुनुवाइ समितिको आजको बैठकमा यूएईका लागि प्रस्तावित राजदूत क्षेत्रीलाई मन्त्रालयका कर्मचारीको तर्फबाट दर्ता गरिएको उजुरीका आधारमा सांसदहरूले प्रश्न सोधेका थिए ।

राजदूतलाई आवश्यक पर्ने अंग्रेजी भाषामा दक्ष नभएको, पटक पटक महिलामाथि दुव्र्यवहारलगायत उजुरी रहेको भन्दै उहाँमाथि प्रश्न उठाइएको थियो । जवाफमा क्षेत्रीले आफूले बीएड र बीएसम्म अध्ययन गरेको, २६ वर्ष परराष्ट्र सेवामा बिताएर बेलायतमा कार्यवाहक राजदूत भई काम गरेको बताउँदै अंग्रेजीमा दक्ष रहेको बताउनु भयो ।

क्षेत्रीले आफूले महिलाहरूलाई जहिले पनि सम्मान गर्ने र देवी मान्ने गरेको सुनाउनु भयो । ‘कतिपयलाई काम धेरै लगायो भने चित्त बुझ्दैन त्यसैले झुठो आरोप लगाइए । मलाई दुःख लागेको छ । म महिलाप्रति सम्मान गर्छु, देवी मान्छु,’ क्षेत्रीले भन्नुभयो ।

उहाँले २६ वर्षको करिअरमा आफूले कहिल्यै यस्तो नसुनेको बताउनु भयो । ‘मैले यस्तो सुनेको छैन । यो मेरो प्रतिष्ठालाई ड्यामेज र डिफेम, बेइज्जत गर्ने कुरा आयो । यस्ता कुराले म निरूत्साहित हुन्न । यो मेरो मात्र बेइज्जत होइन, परराष्ट्र मन्त्रालयकै बेइज्जत हो,’ प्रस्तावित राजदूत क्षेत्रीले भन्नुभयो ।