दोलखा, साउन १९। दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेस्थित सल्लेमा गएको पहिरोमा परी पुरिएका मध्ये एकको शव फेला परेको छ । पहिरोमा पुरिएका गौरीशंकर गाउँपालिका–७ का १५ महिने बालक प्रिन्स थामीको शव फेला परेको हो । पहिरोमा पुरिएर हराइरहेका अन्य तीन जनाको खोजी जारी छ ।
गौरीशंकर गाउँपालिका वडा न ७ का वडाध्यक्ष सोनाम शेर्पाका अनुसार पहिरोमा पुरिएका कृष्ण मगर, उहाँकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता हुनुहुन्छ । उहाँहरूको खोजी जारी छ । पहिरोमा परी घाइते भएका तीन जनाको उद्धार गरिएको छ । उहाँहरूलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
बिहीबार राती परको भीषण वर्षाको कारण वडा नं ८ को सल्लेमा पहिरो गएको थियो । सो पहिरो वडा नं ७ को टोपाटार बस्तीमा पसेपछि सो क्षति भएको हो । पहिरोले टोपाटारका सात वटा घरमा क्षति पुगेको छ । वडा नं ७ र ८ का ३२ बढी घर पहिरोको जोखिममा परेका छन् ।
पहिरोले वडा नं ८ सल्लेका दुई घर पुरेको छ । त्यहाँ २० घर पहिरोको जोखिममा परेपछि स्थानीय घर छाडेर सुरक्षित ठाउँमा सरेका छन् । पहिरोमा केही पशु बस्तु समेत पुरिएका वडाध्यक्ष दावारेञ्जी शेर्पाले जानकारी दिनुभयो ।
पहिरोले स्थानीय घट्टेखोलाको झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ । जसले गर्दा खोजी र उद्धारमा थप कठिनाइ भएको छ ।














प्रतिक्रिया दिनुहोस्