घरमा पुग्दा अचम्मका दृष्यहरु देखें । घरभरी उद्दार गरिएका कुकुर र बिरालोको ताँती, घरको गेटमा लगाइएको टेन्टमूनि एक गाइको बाच्छाको खुट्टामा बाँधिएको पट्टी । मानौं, यो पशु अस्पताल जस्तै देखिन्थ्यो । जहाँ बिरामी र घाइते जनावरहरुको उपचार भइरहेको छ ।
रितु खडका पाल
केही समयअघि सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा I CARE YOU नामको एउटा पेज देखियो, हेर्दा आँखालाई सितलता प्रदान गर्दै थियो । आवाजविहीनको आवाज बनेको देख्दा मनलाई सन्तुष्टि मिलिरहेको थियो । जीवनमा सेवा धेरै देखें । कोही नामको लागि, कोही दामको लागि, कोही नाम दामको लागि त कोही निस्वार्थ भावनाले आनन्दपूर्वक मन शान्तको लागि ।
यहाँ पनि त्यही मन शान्तको लागि सेवा गरेको देखियो । बोल्न सक्नेले मलाई यतातिर, यहाँँनेर दुखेको छ, धेरै दुखिरहेको छ भन्दै सहयोगको अपिल गर्छ, जो बोल्न सक्दैन उसको सहयोग, उसको रोदन पुछिदिने, घाउमा मल्हमपट्टी लगाइरहेको देख्दा आँखालाइ सितल भयो । यो पेजमा घाइते र बिरामी पशु चौपायाको उपचार गरेका धेरै तस्वीरहरु देखिन्छन । सुरुवात कहाँबाट, कसले गर्यो ?
I CARE YOU नामको पेज कसले, कहाँबाट चलाइरहेको छ भन्नेबारे निकै खोजतलास गर्ने क्रम सुरु भयो । खोजीकै क्रममा सोधपुछ गर्दा गर्दै मुख्य व्यक्तिसम्म पुग्न सफल भएँ । घरमा पुग्दा अचम्मका दृष्यहरु देखें । घरभरी उद्दार गरिएका कुकुर र बिरालोको ताँती, घरको गेटमा लगाइएको टेन्टमूनि एक गाइको बाच्छाको खुट्टामा बाँधिएको पट्टी । मानौं, यो पशु अस्पताल जस्तै देखिन्थ्यो । जहाँ बिरामी र घाइते जनावरहरुको उपचार भइरहेको छ ।

हामीलाई यहाँका दृष्यहरुलाई केलाउँदै यसका बारेमा थप जान्ने उत्सुकता जाग्यो । अवकाशप्राप्त शिक्षक मञ्जु शाहीको दैनिकी घाइते र बिरामी जनावरहरुको उपचार र स्याहार सुसारमै बित्ने गरेको रहेछ । भीमदत्त नगरपालिकास्थित कञ्चनपुर निवासी मञ्जु २०६५ सालदेखि निरन्तर यही कर्ममा समर्पित भएकी छन् । उनी यो कर्ममा लागेको १५ बर्ष बितिसक्यो, तर मञ्जुलाई भने १५ बर्ष बितेको पत्तो नै छैन, हिजो जस्तै लाग्छ ।
२०६५ सालको हिउँद याममा विद्यालय गइरहेका बेला एउटा बिचित्रको दृष्यले मञ्जुलाई यस कर्ममा लाग्न अभिप्रेरित गरेको रहेछ । मञ्जुले भन्नुभयो, ‘म विद्यालय गइरहेको थिएँ, रगतले लत्पतिएको गाई र बाच्छाबाच्छीसँगै हिँडिरहेका थिए। अलि टाढाबाट हेर्दा धुँवा उडेजस्तो देखें । जब नजिक पुगें, एउटा बाच्छाको शरीरबाट रगत बगिरहेको देखें । मन निकै आत्तियो, के गरुँ ? कसो गरुँ ? भयो । त्यो गाईलाई समातेर केही गर्नुपर्यो भन्ने सोचें ।’
मञ्जुले कपास र डिटोल खोजेर गाईको शरीरमा भएको घाउ सफा गर्नुभयो, रगत बग्नेक्रम बिस्तारै कम हुँदै गयो । ‘रगत बग्ने क्रम रोकिए पछि औषधि र मल्हमपट्टी गरेर विद्यालयतिर लागें,’ उहाँले सम्झनुभयो, ‘साँझ घाउँ निकै ओभानो भइसकेको थियो, फेरि औषधि र मल्हमपट्टी गरेर घरतिर लागें । त्यो दिन निकै आनन्द लाग्यो, रातभर निद्रा लाग्यो, मन शान्त थियो ।’ भोलिपल्ट विद्यालय जाँदा पनि मञ्जुको कर्म उसैगरी दोहोरियो ।
त्यो घाइते बाच्छी फेरि स्याहार गरेर दिनभर आफ्नो कर्ममा ब्यस्थ हुनुभयो । केही दिनपछि त्यो बाच्छी पूर्णरुपले निको भएको देख्दा मञ्जु निकै खुशी हुनुभयो । ‘त्यो दिन मेरो खुशीको सीमा थिएन । त्यही घटनाले मलाई आवाज विहीन जनावरहरुको आवाज बन्न प्रेरित गरेको थियो,’ मञ्जुले भन्नुभयो । २०६५ सालदेखि अहिलेसम्म निरन्तर यही कर्ममा क्रियाशिल मञ्जुलाई घाइते र बिरामी पशुहरु मैले मात्र देख्छुकी जस्तो लाग्छ ।
‘शरीरभर चोट लागेका, हिँड्डुल गर्न नसक्ने, खान नसक्ने, शरीरभर किरा परेकाधेरै जनावरलाई सञ्चो पारेका छौं,’ मञ्जु भन्नुहुन्छ, ‘एउटा घटनाका कारण मैले यो कर्म गर्दै गर्दा अहिले सेवा गर्ने भावनाले धेरै व्यक्तिहरु जोडिँदा निकै खुशी छु ।’ अहिले यो समुहमा मञ्जु एक्लो छैनन । मञ्जुका अनुसार अहिले नयाँ युवा पुस्ता जोडिने क्रम निरन्तर चलिरहेको छ । अहिले यो समूहमा सात जना युवाहरु क्रियाशिल भएका लागिपरेका छन् ।

मञ्जुसँगै सरिता रावल, विष्णुप्रसाद पनेरु, सुरज कुवर, रिता अवस्थी, सुदीप क्षेत्री, रबिन उपाध्याय यो समूहमा आवद्ध भएर आवाज विहीनको आवाज बन्नुभएको छ । ‘युवाहरुसँग काम गर्दा अझ नया ँनयाँ कुरा सिकिरहेकी छु । हामीले गरेका कामका बारेमा सबैलाई जानकारी होस भन्ने उद्देश्यले I CARE YOU नामक फेसबुक पेज बनाएर फोटो र भिडियोहरु राख्न थालेपछि अहिले यो व्यक्ति विशेष नभएर अभियाननै बनेको छ,’ मञ्जुले भन्नुभयो ।
आफ्नो कामले सार्थकता पाएकोमा निकै आनन्द महसुस हुने गरेको मञ्जुले सुनाउनु भयो । उहाँका अनुसार यो अभियान अहिले घर–घरमा पुगेको छ । ‘अहिले सबैको घरमा घाइते कुकुर, गाई लगायतका जनावरहरु देख्न सकिन्छ। हामी आ–आफ्नो पेशमा आवद्ध छौं, तर समयलाई व्यवस्थापन गरेर घाइते जनावरहरुको सेवामा जुट्ने गरेका छौं,’ मञ्जुले भन्नुभयो । उहाँले सुरुका दिनमा व्यक्तिगत रुपमै औषधि किनेर उपचार पनि गरेको सुनाउनु भयो ।
पछिल्लो समयमा मञ्जुसँगै यही कर्ममा क्रियाशिल भएर लागिपरेकी सरिता भन्नुहुन्छ, ‘सुरुमा त हामीले निकै अभाव झेलेका थियौं । आफ्नै गोजीको पैसाले औषधी किनेर उपचार गरेका थियौं, सेवाको सिमाना र दायरा बढ्दै गएपछि अहिले मनकारी व्यक्तिहरुले दान गरिदिनु हुन्छ, जसले केही सहजीकरण र सहयोग भएको छ ।’ सरिताले आफूहरु पैसामूखी नभई आत्मशान्तिका लागि सर्मपित भएकाले यो अभियानलाई संस्थामा परिणत गर्न मन नलागेको बताउनु भयो ।

‘कहिले काँही आफ्नो दायरा र क्षमताले नभ्याउँदा दानलाई स्वीकारेका छौं । अहिले यो अभियान कञ्चनपुर जिल्लाभर फैलिएको छ । त्यसैले पनि दाताहरुको सहयोगलाई स्वीकारेका छौं,’ सरिताले थप्नुभयो, ‘तर, अलि टाढा जानु पर्दा विशेषज्ञ डाक्टरलाई नै लैजानु पर्ने हुन्छ, त्यस्तो अवस्थामा दाताको सहयोग हाम्रा लागि अमृतजस्तै हुन्छ । दाताहरु कसले के–कसरी सहयोग गर्नुहुन्छ, त्यो सबै फेसबुक पेजमा सार्वजनीक गर्ने गरेका छौं ।’
जिल्लामा पुग्न सक्ने ठाउँसम्म आफूहरुले सेवा दिइरहेको सरिताले बताउनु भयो । आफूहरुले गरेको काम सबैले देखे पनि कसैले चासो नदिँदा मञ्जुको मन कटक्क दुख्छ । उहाँले भन्नुभयो, ‘नगरपालिकाले त चासो दिँदैन, अरुको के आशा र अपेक्षा गर्नु ?’ अहिले छाडा पशु चौपाया जताततै छन, उनीहरुको घर नै सडक हो । यसले पनि सडक दुर्घटना बढेको देखिन्छ । मान्छे घाइते हुँदा अस्पताल जान्छ, ती अबोध जनावर सडकमै छटपटाउनु पर्छ ।’
घाइते र हिँड्न नसक्ने पशु चौपायाहरुको अवस्थाका बारेमा आफू र आफ्ना समुहका सदस्यहरुलाई फोन आउने गरेको मञ्जु बताउनु हुन्छ । ‘त्यस्ता पशु चोपायाको उद्दारका लागि हामी जहिले ‘अलर्ट’ हुन्छौं । लामो समयसम्म उपचार गर्नुपर्ने अवस्थामा घाइते र बिरामी पशुलाई घरमा राखेर वा त्रिपालमा राखेर उपचार गरिरहेका छौं ।’ अब त घरमा राख्न सक्ने अवस्था पनि नरहेको मञ्जु बताउनु हुन्छ ।
उहाँलाई लाग्छ, स्थानीय सरकारले थोरै जग्गा जमीनको व्यवस्था गरिदिए घाइते पशु चौपायालाई एकै ठाउँमा राखेर उपचार गर्न सजिलो हुन्थ्यो । ‘स्थानीय सरकारले प्रयोगका लागि सार्वजनिक जग्गा उपलब्ध गराए हामी त्यही टेण्ट लगाएरै भए पनि उपचार गर्न सक्थ्यौं,’ मञ्जु भन्नुहुन्छ, ‘दुध खादासम्म खाने दुध दिन छाडेपछि गाईलाई छाडिदिने ? फेरि दुध दिन सुरु गर्दैछ भन्ने थाहा पाएपछि मेरो हो भन्दै घर लैजान आउँदा कहिले काँही निकै रिस उठ्छ ।’ मञ्जुले भन्नुभयो, ‘कृष्णको भक्त हुँ, राधे राधे, ओम शान्ति भन्दै भगवानको नाम गाउने तर यी अबोध जनावरका बारेमा नबोल्नेहरुको चेतना अनि दरिद्रता देखेर अचम्म लाग्छ ।’ कहिलेकाँही घाइते जनावरको रात दिन सेवा गर्दा पनि सन्चो नहुँदा मनमा निरास हुने गरेको सरिताले सुनाउनु भयो । ‘यतिसम्म जनावरले चिनिसकेका छन, छेउमै टाँसिन आउँछन । अहिले हामी सबै लुम्फी रोगको भ्याक्सिन लगाउन व्यस्त छौं,’ सरिताले भन्नुभयो, ‘भ्याक्सीन लगाउनकै लागि आफ्नो गाई बस्तु पनि मेरो होइन भनेर हामीकहाँ ल्याइदिने गरेका छन ।’

यो अभियान समुहले विरामी र घाइते पशु चौपायाको उपचारका साथै अन्य सामाजिक कामहरु पनि गर्दै आएको छ । पछिल्लो समयमा यो अभियानमार्फत लुगाहरु र भाडाहरु संकलन गरेर गरिब, बिपन्न, भूकम्पतथा बाढीपीडित परिवारलाई वितरण गरिरहेको छ । यो अभियानलाई सबैले साथ दिनुहोला । स्थानीय, प्रदेश, संघीय सरकारका साथै यस क्षेत्रमा कामगर्ने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको पनि ध्यान जाओस् । I CARE YOU लाई हाम्रो पनि शुभकामना ।















प्रतिक्रिया दिनुहोस्