जनता टाइम्स

२४ श्रावण २०८०, बुधबार ०८:३१

कोशी-बागमती र गण्डकीसहित आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, साउन २४ । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पनि सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज रातिपनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।