जनता टाइम्स

२५ श्रावण २०८०, बिहीबार १०:३३

सुन तस्करीमा समातिएका अभियुक्तसँग देखियो माओवादी नेताहरु र परिवारसँग बाक्लो उठबस


काठमाडौं, साउन २५ । एक क्वीनटल सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूको राजनीतिक दलका नेताहरूसँगको सम्बन्ध र सम्पर्कबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको हो ।

प्रारम्भिक अनुसन्धानकै क्रममा दावा छिरिङको सम्पर्क सत्तारुढ नेकपा माओवादी केन्द्रका उच्च तहका नेताहरू र उनीहरूका परिवारसँग बाक्लो उठबस भएको तथ्य खुलेको छ । त्यसैले प्रहरीले उनीहरूको ‘कनेक्सन’बारे अनुसन्धान अघि बढाएको हो । दावा छिरिङको पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उहाँका परिवारका सवै सदस्य, माओवादी उपमहासचिव बर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती मगरसहितका आधा दर्जन नेता र परिवारका सदस्यसँग घनिष्ठ सम्बन्ध रहेको खुलेको हो । यी नेताहरुसँग दावा र उनकी पत्नी अमलाको घनिष्ठ सम्बन्ध देखिएको हो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार दावा छिरिङ सुरक्षा निकायले प्रयोग गर्ने सुराकी भएका कारण पनि उनी बढी निगरानीमा परेका छन । दावाले प्रहरीलाई सुराकी दिने नाममा आफ्नो पहँुच बनाएका थिए । प्रहरीका अनुसार ‘दावा छिरिङले सुरक्षा निकायलाई पनि चिनियाँ नागरिकबारे सुराकी दिने गरेको पाइएको छ ।

ब्युरोका अनुसार सुन तस्करी प्रकरणमा अर्थ मन्त्रालयका उच्च अधिकारी र केही नेपाली व्यवसायी पनि निगरानीमा परेमा छन । प्रहरीका अनुसार एक नेपाली व्यवसायीमार्फत दावा छिरिङको अर्थ मन्त्रालयका उच्च अधिकारीसम्म पहुँच पुगेको देखिएको स्रोतले बतायो । साउन ३ गते त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिएको तस्करीको करिब एक सय किलो राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा विभागले पक्राउ गरेका मानिस र फेला पारेका कागजात, प्रमाण प्रहरी प्रधान कार्यालयमार्फत ब्युरोलाई हस्तान्तरण गरेको छ । विभागले आइतबार पक्राउ मानिस र प्राप्त कागजपत्र हस्तान्तरण गरेपछि ब्युरोले अनुसन्धान थालेको हो । ब्युरोले अनुसन्धानका लागि छुट्टै कार्यालय खोलेर टोली खटाएको छ । ब्युरोका एसपी सञ्जयसिंह थापाको नेतृत्वमा अनुसन्धान टोली बनाइएको छ । ब्युरोले सुन तस्करीलाई अन्तरदेशीय संगठित अपराधअन्तर्गत राखेर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

सिआइवीले सुन बरामदसँगै र पछि पक्राउ गरेका ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई, तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामा, चिनियाँ नागरिक जिक्वाङ लिन, चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरिसकेको छ । यस्तै कार्गो कम्पनी सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट, विमानस्थलका भन्सार अधिकृत सन्तोष चन्द, एक्स–रे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमा संलग्न कुमार ढकाललाई पनि पक्राउ गरिएको छ ।

विभागले तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको आरोपमा पक्राउ गरेका भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बालाई पनि ब्युरोको जिम्मा लगाएको छ । क्यान्सरको बिरामी भएकाले सुब्बालाई हाजिरी जमानीमा छाडिएको छ । सुन तस्करीमा संल्गन रहेको आशंका गरिएका व्यापारी राकेश अडुकिया फरार छन ।