बुटवल, साउन २६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताउनु भएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बुटवलमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताउनु भएको हो ।
उहाँले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताउनु भयो । आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको आरोपपनि भट्टराईले लगाउनु भयो ।
‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन, अनि अनुसन्धान सामसुम हुन्छ’, भट्टराईले भन्नुभयो, ‘अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन भन्ने विश्वास छैन ।’
उहाँले ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र खुशीसाथ बयान दिन जाने प्रतिवद्धता जनाउनु भयो । ‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौं भन्दै आएको हुँ, ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु’, भट्टराईले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्