जनता टाइम्स

२८ श्रावण २०८०, आईतवार १०:३३

सुन तस्करीमा महरा बाबुछोरा संलग्न भएको प्रमाण सिआइवीले दिए पनि प्रधानमन्त्री र गृहमन्त्रीले जोगाए


काठमाडौं, साउन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुनियोजित रुपमा सुन तस्करीमा संलग्न मुख्य नाइकेहरुलाई संरक्षण गर्ने धन्दामा रहेको तथ्यहरुले सार्वजनिक भएको छ ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहनु भएका कृष्णबहादुर महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रमाणसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिवेदन दिँदा पनि प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले कुनै कार्वाही अघि बढाउन नदिएर संरक्षण गरेको पाइएको हो ।

माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको ९ किलो सुन भित्र्याउने तस्करसँगको सम्बन्ध पुष्टि भइसक्दासमेत अनुसन्धान नहुँदा सरकार तथा खासगरी गृह प्रशासन र अनुसन्धानकारी निकायमाथि नै अविश्वास पैदा भएको छ । महरा र उहाँका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।

सीआईबीले किटान गरेर नै कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रतिवेदन तयार पारेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको पाइएको छ । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ ।

राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । हाल फरार असिन भनिएका अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । त्यसैगरी राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक टेलिफोन गरेका थिए । श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार राहुलले तस्करीको उक्त सुनबारे चासो राख्दै लिलामीको प्रक्रियाबारे जानकारी लिएका थिए । तर उनीहरूमाथि अनुसन्धान भने भएको छैन ।

८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लुईसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु–छोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट शक्तिको दुरुपयोग गरी उक्त सुन लिलाम गरी बिक्री गर्नेसम्मको योजना थियो । प्रहरीले कल डिटेल रेकर्डसहित बाबु–छोराको विवरण मात्रै खुलाएर अन्य आरोपितमाथि गत असार २७ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको छ । त्यसको एक महिना बितिसक्दासमेत प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायले महरा बाबुछोरामाथि सामान्य सोधपुछसमेत गरेका छैन ।

सुन तस्करीमा महराको नाम जोडिएपछि प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण वज्राचार्यलाई बोलाएर थप छानविन नगर्न भनेको स्रोतका भनाई छ । चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थिए ।

भेप जाँचपासका क्रममा शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा राखेर थप अनुसन्धान अघि बढेको थियो । सामान करिब डेढ महिना भन्सार गोदाममै थन्किएको थियो । त्यहीबीच केही कर्मचारीलाई हातमा लिएर गिरोहले भन्सारमा सुन रहेका भेप उम्काएर बजारबाट किनेर ल्याएर फेरबदल गरेको थियो । सामान साटफेर हुनुअघि सुन भएको भेप छुटाउन महरा बाबु–छोराले कर्मचारी, गिरोहका सदस्य र बिचौलियासँग पटक–पटक टेलिफोन संवाद गरेको तथ्य अनुसन्धानबाट खुलिसकेको छ ।

भन्सारले नियन्त्रणमा लिएका भेप लिलामी प्रक्रियामा लैजान सुरसार गरेपछि गिरोहकै एक व्यक्ति आएर ‘यो खास किसिमको भेप हो, हामी आफैं सकार्छौं’ भनेपछि भन्सार प्रमुख अरुण पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा मात्रै त्यसमा सुन लुकाएर ल्याइएको तथ्य खुलेको थियो । तर, त्यो बेलासम्म गिरोहले सुन भएको भेप फुत्काएर अरू नै भेप गोदाममा राखेको पोल खुल्यो । त्यसपछि मात्रै पोखरेलले यसमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिनुभएको थियो ।

ब्युरोको अनुसन्धानपछि मात्रै यो प्रकरणमा चिनियाँ गिरोहले भेपका नाममा भित्रिएको सुन छुटाउन महरा बाबु–छोरा परिचालन गरेको पोल खुलेको थियो । तर, सुन भएको भेप भन्सारले नियन्त्रणमा लिएपछि दुबईबाट आएको तेस्रो दिन ली पुस १३ मा विदेश भागिसकेका थिए । अर्का एक चिनियाँ गत वैशाख १५ मा विदेश भागेको अनुसन्धानबाट खुलेको छ । तस्करीको सुन व्यवस्थापन जिम्मा पाएका गिरोहका अर्का सदस्य चिनियाँ नागरिक, सुन व्यवस्थापनमा काठमाडौंमै रहेका अरू तीन चिनियाँ र उनीहरूका सहयोगीसमेत फरार छन ।

सुन ल्याउने चिनियाँ गिरोहका लीले पूर्वसभामुख महरालाई फोन गरेको देखिन्छ । अर्का सुन तस्कर दाओजिन वाङसँग पनि उनको पटक–पटक कुरा भएको अनुसन्धानले देखाएको छ । त्यसपछि लीको लोकेन्द्र पौडेल र श्याम शाहसँग सम्पर्क हुन्छ । यो बीच वाङले पौडेल, शाह, असिन र महराका छोरा राहुलसँग सम्पर्क गरेका छन । राहुलको आसिन र पौडेलसँग पनि पटक–पटक सम्पर्क भएको देखिन्छ । यो नेटवर्कमा रहेकामध्ये लीको महरा, वाङ, पौडेल, शाह, असिन र खुवाप्रसाद न्यौपानेसँग सम्पर्क देखिन्छ ।

लीले वाङसँग फेरि कुरा गरेपछि नेपालमा भएका गिरोहसँग अर्को नेटवर्कमा कुरा हुन्छ । प्रहरी अनुसन्धानमा उनीहरूको सम्पर्क सुन बेचबिखनमा रहेको समूह (पक्राउ परी मुद्दा दायर भइसकेको) का रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दीपेश बस्नेत, गोपाल सुवेदी लगायतसँग भएको देखिन्छ । तर, यो प्रकरणमा भेप चोरी गरेर सुन बेच्ने गिरोहमाथि मात्रै मुद्दा चलाएर महरा बाबुछोरालाई जोगाइएको छ ।