जनता टाइम्स

२८ श्रावण २०८०, आईतवार २०:११

गृहमन्त्रीको सनकले पोतियो सिआइवीकै छविमा कालो दाग : नक्कली प्रमाणपत्र प्रकरणमा समातिएका डाक्टर सक्कली


काठमाडौं, साउन २८ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सनकले अनुसन्धानमा बिश्वमै कहलिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कै छविमा कालो दाग लागेको छ ।

सुन तस्करी प्रकरणमा आफ्नो राजीनामा मागेपछि कांग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गरेर बदला लिने योजनालाई मुर्त रुप दिन गृहमन्त्री श्रेष्ठले सिआइवी लगाएर नक्कली प्रमाणपत्रको स्टण्ड गर्दै सक्कली डाक्टरलाई समेत पक्राउ गरेपछि सिआइवीमाथि नै गम्भीर प्रश्न खडा भएको हो ।

आज मात्रै नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका व्यक्ति सक्कली डाक्टर भएको तथ्य उजागर भएको छ । सिआइबीले शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेको आरोपमा अपरेशन नै चलाएर ८ जनालाई पक्राउ गरेको थियो । जसमध्ये एक जनाको प्रमाणपत्र सक्कली नै रहेको पाइएको हो ।

प्रहरीका अनुसार महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादवले नक्कली प्रमाण पत्र पेस गरेको पाइएको भन्दै पक्राउ गरिएको थियो । तर उहाँको प्रमाणपत्र सक्कली भेटिएको हो । प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको भन्ने थाहा पाएपछि मेडिकल काउन्सिलले अहिले हिरासतमा रहेका रञ्जितकुमार यादवका कागजातहरू सक्कली नै रहेको भनेर पत्र पठाएको छ ।

नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेको आरोपमा सिआइबीले अहिलेसम्म डा. रामबाबु यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार, डा. मनित चौधरी र डा. पुनम थापालाई पक्राउ गरेको छ । प्रहरीले यही प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको थियो। तर अदालतले उहाँलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि छुटनु भएको छ ।

डा. यादवको घटना सार्वजनिक भएसँगै गृहमन्त्री सत्ताको चरम दुरुपयोग गर्दै आफ्नो अबैध धन्दाबिरुद्ध बोल्ने जो कोहीलाई पुलिस लगाएर थुन्ने र नागरिकमाथि बर्बरता लादने तानाशाहका रुपमा देखा परेको टिप्पणी भएको छ ।