काठमाडौं, साउन २९ । सत्तारुढ गठबन्धनले बिमानस्थलबाट भएको सुन तस्करी सत्ता संरक्षित नै रहेको तथ्य उजागर गरेको छ । तस्करीमा धमाधम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रका नेताहरु जोडिन थालेपछि आफू मातहतको निकायभन्दा बाहिर गएर छानविन नगर्ने निर्णय गरेर गठबन्धनले सत्ता संरक्षित तस्करी भइरहेको तथ्यलाई स्वीकार गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको मागलाई अस्वीकार गरेको छ । सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निर्णय बैठकले गरेको छ । यसअघि भएको ९ किलो सुन तस्करीमा कृष्णबहादुर महराका बाबुछोरालाई जसरी नै क्वीन्टल सुन तस्करीमा जोडिएका नेता जोगाउन यस्तो निर्णय गरिएको कांग्रेसका एक नेताले बताए ।
सुन प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराका बाबुछोराको पनि बैठकमा चर्चा भएको थियो । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो विषयमा ठोस जवाफ दिनुभएन । प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले नै सिआइवीले किटानी प्रतिवेदन दिँदा पनि बयानमा बोलाउन रोक लगाउनु भएको तथ्य यसअघि नै खुलिसकेको छ ।
बैठकले गौर हत्याकाण्डका विषयमा पनि छानविन नगर्ने निर्णय गरेको छ । गौरमा मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरु सहिद घोषणा भइसकेकाले थप यसमा केही बाँकी नरहेको निष्कर्ष निकालिएको थियो ।













प्रतिक्रिया दिनुहोस्