जनता टाइम्स

३० श्रावण २०८०, मंगलवार १९:३४

अध्यक्ष ओलीसँगको बार्तामा के भयो ? यस्तो छ भीम रावलले खोलेको चुरो कुरा


काठमाडौं, साउन ३० । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली शर्मासँगको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ ।

लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहनु भएका पूर्वउपाध्यक्षसमेत रहनुभएका नेता रावल आज पार्टी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष ओलीसँग लामै भेटवार्ता गर्नुभएको हो । अध्यक्षसँगको भेटबार्तापछि पत्रकारहरूसँग छोटो कुराकानी गर्दै रावलले सकारात्मक रहेको र देशको स्थितिबारे छलफल भएको जानकारी दिनुभयो । रावलका अनुसार छलफलमा आ–आफ्ना विचारहरू राख्नेसहित अन्य सामान्य कुराकानी भएको छ ।

‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो । र आज भलाकुसारी गरयौं । के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ । यसमा हाम्रा सोच दृष्टिकोणहरू के छन ? त्यसमा सामान्य कुराकानी भयो,’ रावलले भन्नुभयो, ‘अब फेरि कुराकानी गर्ने भन्ने भयो ।’

गत मंसिरमा सम्पन्न निर्वाचनमा उम्मेदवार बन्नबाट रोकेको पार्टी काममा सक्रिय हुनुहुन्न । उहाँ पार्टीमै रहे पनि कुनै पनि जिम्मेवारीमा हुनुहुन्न ।तपाईलाई जिम्मेवारी दिनेबारे के छलफल भयो भन्ने पत्रकारको प्रश्नलाई पनि रावलले घुमाउरो पाराले संकेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘धेरै लामो समयपछि भेटघाट भएको हो । अब उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश–विदेशको बारेमा जानकारी हुन्छ । सूचना हुन्छ। अब म पनि अध्ययन गरिरहेको मान्छे। आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो । अब फेरि कुराकानी गरौंला भन्ने भयो। यतिमात्रै भयो।’ २०७८ साल मंसिरमा चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनमा रावलले अध्यक्ष ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।

एमालेका पूर्वउपाध्यक्ष रावलले एमाले नेतृत्वको आलोचना गर्दै आउनु भएको थियो । एमालेले गत चैतमा रावलसँग संवाद गर्न उपाध्यक्ष बिष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । बार्ता टोलीबीच छलफल भएपनि कुनै निश्कर्ष आउन सकेको छैन । यहीबीचमा अध्यक्ष ओली आफैले रावलसँग एक्लाएक्लै बार्ता गर्नुभएको हो ।