जनता टाइम्स

३१ श्रावण २०८०, बुधबार १३:४८

शीतल निवासमा एमाले अध्यक्ष ओली


काठमाडौं, साउन ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुग्नुभएको छ । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओली राष्ट्रपति पौडेलसँग भेटका लागि आज दिउसो १ बजे शीतल निवास पुग्नुभएको हो ।

राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको छ । संसदमा उत्पन्न गतिरोधजस्ता विषयमा राष्ट्रपति र अध्यक्ष ओलीबीच कुराकानी भएको स्रोतको भनाई छ ।

लामो समय संसद नचल्दा जनतामा नैराश्यता बढ्ने र नकरात्मक प्रभाव पर्ने भएकोले सहमति कायम गरी संसद चल्ने वातावरण बनाउन राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको बताइएको छ ।

राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्न यसअघि शितल निवासमै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग कुराकानी गरिसक्नु भएको छ ।

एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ । भेटमा अध्यक्ष ओलीले आफूहरुले नभई सरकारले नै संसद अवरोध गरेको र मुलुककै प्रतिष्ठामा आँच आउने गरी बिमानस्थलबाट भएको सुन तस्करी सत्ता पक्ष छानविन गर्न समेत तयार नभएको धारणा ओलीले राख्नुभएको बुझिएको छ ।