जनता टाइम्स

३१ श्रावण २०८०, बुधबार १५:००

सार्वजनिक यातायातको भाडा बढ्यो


काठमाडौं, ३१ साउन । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्यवृद्धि भएको २४ घण्टा नपुग्दै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । हिजो मध्यरातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो ।

इन्धनको मूल्य बढेसँगै आज दिउँसो यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो ।

विभागले यात्रुवाहक र मालवाहक सवारीको भाडा पनि वृद्धि गरेको हो । नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ भाडा प्रतिशतले बढेको छ ।