जनता टाइम्स

१ भाद्र २०८०, शुक्रबार १९:३६

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले ल्याएको बजेट अध्यादेश सर्वसम्मतिले स्वीकृत


बिराटनगर, भदौ १ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएकाे बजेटसम्बन्धी अध्यादेश काेशी प्रदेश सभाबाट स्वीकृत भएकाे छ ।

शुक्रबार बसेकाे प्रदेश सभा बैठकबाट प्रदेश सरकारकाे अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मतिले स्वीकृत भएकाे हाे ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रदेश सभा नियमावलीको नियम ८१ को उपनियम (४) बमोजिम साे प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । मन्त्री गाैतमले प्रस्तुत गर्नुभएकाे साे प्रस्तावलाई उपसभामुख सृजना दनुवारले निर्णयार्थ पेस गर्दै सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभएकाे हाे ।

त्यसअघि अध्यादेश अस्वीकार गर्नेसम्बन्धी सूचना सत्ता पक्षका सांसद्ले फिर्ता लिएका थिए । काेशी प्रदेश सभा बैठक भदाै ४ गते बस्नेगरी स्थगित भएकाे छ । साे बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासकाे मत लिनुहुने तय भएकाे छ ।