जनता टाइम्स

२ भाद्र २०८०, शनिबार १४:२५

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषदमा लगेका थिए एआइजी सरुवाको ठाडो प्रस्ताव


काठमाडौं, भदौं २ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गर्न मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लैजानु भएको रहस्योदघाटन भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहमतिअनुसार गृहमन्त्रीले मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लैजानुभएको पाइएको हो । मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनको नेतृत्वकर्ता उपत्यका प्रहरी कार्यालयका एआइजी श्याम ज्ञवालीसहित ५ जना एआइजीको सरुवाका लागि गृहमन्त्रीले ठाडो प्रस्ताव ल्याउनु भएको थियो ।

स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आफ्नो निर्देशनबिपरित बालकृष्ण खाणसहितका केही कांग्रेस नेता पक्राउ गरेको भन्दै देउवासामु गुनासो समेत गर्नुभएको थियो । बिमानस्थलबाट सुन तस्करी प्रकरणको उच्चस्तरीय छानविनको माग भएपछि गत साता गृहमन्त्री श्रेष्ठ देउवा निवास पुगेर गोप्य भेटबार्ता गर्नुभएको थियो ।

भेटमा ज्ञवालीसहित अपराध महाशाखाका प्रमुख एसएसपी मनोज केसी, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले आफूलाई कुनै जानकारी नै नदिइ कांग्रेसका नेताहरु पक्राउ गरेको भन्दै सत्तारुढ दलका नेतालाई जसरी पनि जोगाउने सरकार र आफ्नो नीति बिफल भएको धारणा राख्नुभएको स्रोतको भनाई छ । सोही दिनको बार्तापछि श्रेष्ठले ज्ञवालीलाई उपत्यकाबाट हटाउने निर्णय लिनुभएको थियो ।

ज्ञवाली हटाउने देउवा निवासकै सहमतिअनुसार गृहमन्त्री श्रेष्ठले मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएको एक मन्त्रीले बताए ।

‘गृहमन्त्रीले सरुवाका लागि ठाडो प्रस्ताव ल्याउनु भयो, यत्ति चाँडै किन भनेर सोध्दा हामीले भनेअनुसार काम गरेनन, गठबन्धनमै समस्या ल्याउने काम भयो भन्ने जवाफ आयो,’ ती मन्त्रीले भने । उनका अनुसार गृहमन्त्री श्रेष्ठले सिआइवीका प्रमुखले आफूहरुले भनेअनुसार मात्रै काम गरेको तर उनीहरुले संलग्नता देखिएजति सवैलाई समातेको भन्दै गृहमन्त्री श्रेष्ठले आक्रोश समेत पाख्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका तात्कालिन सचिव टोपबहादुर रायमाझी र इन्द्रजीत राईमाथि सवै दोष थोपरेर कांग्रेस नेताहरुलाई जोगाउने योजनामा हुनुहुन्थ्यो । तर मुख्य दोषी तात्कालिन गृहमन्त्री खाण र गृहसचिव नै देखिएपछि प्रहरीले पक्राउ गरेको थियो । एआइजी ज्ञवालीपछि अव एसएसपीद्वय कार्की र केसीलाई पनि हटाउने तयारी भएको स्रोतले जनाएको छ ।