मुगु, २ भदौ । पछिल्लो समयमा विकास निमार्णको क्रममा जथाभावी डोजर चलाउने प्रवृत्ति बढ्दो छ । भूगोलको अवस्था, वातावरण र माटोको परीक्षणसमेत नगरी धमाधम सडक निर्माण गर्दा गाउँघरमा धेरै ठाउँहरुमा जोखिम बढ्दो छ । जस्को कारण मुगु जिल्लामा रहेका १ सय ५० भन्दा बढी बस्तीहरु पहिरोको उच्च जोखिममा परेका छन् ।
एक नगरपालिका र ३ गाँउपालिकामा रहेको मुगुमा २ सय भन्दा बढी बस्तीहरु मध्य १ सय ५० बस्ती पहिरोको उच्च जोखिममा रहेका छन । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौं नागरिकहरु पहिरोको जोखिम मोलेर जीवन बिताउन बाध्य छन । गतबर्ष असोज १९ गतेदेखि २४ गतेसम्म आएको ठूलो बाढी पहिरोले घर, धनजन ,अन्नसमेत बगाएर लगेपछि घरबार विहीनहरु त्रिपालमुनि खुल्ला चौरमा बस्दै आएका छन् ।
खुल्ला चौरमा बस्दै आएका छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाँउका जैमती रावलले भन्नुभयो,‘आकासमा बादल लाग्दा राति निन्द्रा लाग्दैन, स्थानीय र अन्य कुनै पनि सरकारले राहत लगायत अन्य कुनै पनि सेवा दिएको छैनन् । गाँउमा बसौं भने गाँउ नै पहिरोको जोखिममा छ ।’ बाढी पहिरोले छायाँनाथ रारा नगरपालिका दर्जनौ बस्ती लगायत जिल्ला भरिका धेरै बस्तीहरु पहिरोको उच्च जोखिममा छन् ।
जोखिम बस्तीमा हजारौं नागरिकहरु ज्यान धरापमा राखेर जीवन जिउन बाध्य छन । स्थानीय वडा, गाँउपालिका, नगरपालिकामा आएको बजेटले उच्च जोखिममा रहेका बस्तीहरुमा विकास निर्माणको कार्य गर्न नसक्ने हुँदासंघीय र प्रदेश सरकारले समयमा जोखिमका बस्तीहरुको सुधारको लागि ध्यान पुर्याउनु पर्ने छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष राजु सुनारले बताउनुभयो । मुगु जिल्लाका् भूगोल अन्य जिल्ला भन्दा निकै फरक प्रकृतिको छ ।
बालुवा, गिट्टी, बलौटे माटो रहेको धेरै भिरालो जमिन भएको हुँदा सामान्य आकासे पानी आउँदा बाढी पहिरो आउने सम्भावना हुन्छ । गत बर्ष आएको बाढी पहिरोले पारेको असर यसैको उदाहरण हो । मुगु जिल्ला भरी पहिरोको यस्तै उच्च जोखिममा रहेका १ सय ५० भन्दा बढी बस्ती छन । पहिरो रोकथामका लागि जिल्लामा रहेका सरोकारवाला निकायहरु समयमा लाग्न आवश्यक भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका अध्यक्ष मोहनबहादुर थापा बताउँनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्