काठमाडौं, भदौ ३ । मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिन सर्ने क्रममा रहेकाले आजदेखि देशका केही प्रदेशमा भारी वर्षा हुने देखिएको छ ।न्यूनचापीय रेखा अहिले पश्चिमतर्फ सरदरस्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुनको अवधिभर न्यूनचापीय रेखा स्थिर रहँदैन। अहिले सरदरस्थानबाट दक्षिणतर्फ सर्ने क्रममा रहेकाले पुनः भारी वर्षाको सम्भावना देखिएको अधिकारीको भनाई छ ।
अधिकारीका अनुसार आज रातिदेखि भोली र पर्सिसम्म वर्षा तुलनात्मक रूपमा वृद्धि हुने पूर्वानुमान् छ। अहिले नेपालमा भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेका कारण पानी पर्ने क्रममा वृद्धि हुने देखिएको हो।
आज बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई लुम्बिनी प्रदेश सहित पहाडी भू(भागको केही स्थानहरूमा र बाँकी भू(भागको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो । आज बेलुका कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान् छ।
कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
भोली गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान् छ भने पर्सी लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्