जनता टाइम्स

३ भाद्र २०८०, आईतवार १२:३९

सदन खुलाउन सभामुखले बोलाएको बैठक विनानिष्कर्ष टुंगियो


काठमाडौं, भदौ ३ । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले बोलाउनु भएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक विनानिष्कर्ष सकिएको छ। बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा सहमति जुटन नसकेको हो ।

‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब यहाँ कुरा मिल्न सकेन। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ,’ बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ । सरकार समिति गठनको पक्षमा नहुँदा अझै कुरा मिल्न नसकेपछि प्रधानमन्त्रीले पनि बैठक राखेका छन्।