जनता टाइम्स

७ भाद्र २०८०, बिहीबार १६:१४

सानै उमेरमा ‘लभर’ खोज्नेहरू : देखाउनलाई पनि प्रेम गर्नै पर्ने वाध्यता


एजेन्सी, ७ भदौ । ‘जुमर’ कसलाई भनिन्छ थाहा छ ? उनीहरुको दिलको अवस्था थाहापाउनुहुन्छ ? सन् १९९७ देखि २०१२ सम्म जन्मेका बालबालिकालाई जेनेरेशन जेड, जेएन जेड र जुमर्सजस्ता शब्दहरू प्रयोग गरिन्छ । जबकि, १९८१ र १९९६ को बीचमा जन्मेकाहरूलाई मिनिनियर्स भनिन्छ।

जुमर्स संसारभरका सबैभन्दा कम उमेरका युवा हुन् , जससँग विश्व परिवर्तन र सुधारका लागि आशाहरू जोडिएका हुन्छन्। तर, यो पुस्ता आज सबैभन्दा बढी तनावको चपेटामा छ। ‘सिग्ना इन्टरनेशनल हेल्थ सर्भे–२०२३’ को विश्वव्यापी अध्ययनअनुसार १८ देखि २४ वर्ष उमेर समूहका ९१ प्रतिशत युवा तनावसँग लडिरहेका छन् ।

सानै उमेरमा ब्रेकअपको पीडा असहनीय
यी युवाहरूको तनाव र चिन्ताको सबैभन्दा ठूलो कारण पढाइ वा करियरको बोझ होइन, लभ र ब्रेकअप हो । नेल्सन आइक्यु द्वारा गरिएको सर्वेक्षणमा, ८७ प्रतिशत जुमर्सहरूले लभअफेयरमा समस्याका कारण उनीहरू तनावको सामना गरिरहेको बताएका छन् । ब्रेकअपले यस पुस्ताको प्रत्येक तेस्रो युवाको मानसिक स्वास्थ्यमा निकै नराम्रो प्रभाव पारेको छ।

पारस अस्पताल, गुडगाउँका वरिष्ठ परामर्शदाता क्लिनिकल साइकोलोजिस्ट डा. प्रीति सिंह भन्छिन् कि जेन जेडमा प्रेम सम्पन्धको तनाव धेरै देखिएको छ। यसका धेरै कारण छन्। उनीहरू सानै उमेरमा लभमा पर्छन, तर प्रेम सम्वन्धका समस्याहरू समाधान गर्न पर्याप्त परिपक्व हुँदैनन्।

त्यसैले यो उमेरका युवालाई पार्टनरसँगको मतभेद, ब्रेकअप र प्रेम सम्बन्धका यस्ता सबै समस्यालाई कसरी समाधान गर्ने भन्ने थाहा हुँदैन । उनीहरुको अगाडि कुनै समस्या आउनेबित्तिकै उनीहरु डराउँछन् कि सम्बन्ध टुट्न सक्छ, एक्लो हुन सक्छन् । ब्रेकअपको यो डरले चिन्ता र तनाव बढाउँछ।

केटा र केटीमा तनावको कारण फरक
केटा होस् वा केटी, सम्बन्धको तनावले दुवैलाई सताउँछ, तर दुवैमा तनावको कारण बिल्कुलै फरक हुन्छ । डेटिङ एप ‘क्वाकक्वाक’ ले गरेको सर्वेक्षणका अनुसार जहाँ केटाहरु ब्रेकअपका कारण तनावबाट ग्रस्त हुन्छन्, त्यँही केटीहरुले सम्बन्ध जोगाउन दबाबको सामना गर्नुपर्ने हुन्छ, जसले उनीहरुको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । तनाव र चिन्ताले तिनीहरूलाई गाँज्छ ।

सामाजिक सञ्जालमा देखाउने
नेल्सन आइक्यु को सर्वेक्षणले देखाउँछ कि ५५ प्रतिशत जूमर्सहरूले आफ्नो मानसिक स्वास्थ्यको रक्षा गर्न सोशल मिडियाबाट ब्रेक लिनुपरेको थियो । ४० प्रतिशतले सामाजिक सञ्जालका कारण तनावको सामना गर्नुपरेको छ । सामाजिक सञ्जालले उनको ‘लभ लाइफ’मा पनि गहिरो प्रभाव पारेको छ ।

डा. प्रीति सिंह भन्छिन्, ‘अहिले केटाकेटीबीच सम्बन्ध स्टेटस सिम्बल बन्दै गएको छ । जसका कारण उनीहरु सानै उमेरमा पार्टनर खोज्न थाल्छन् । सामाजिक सञ्जालका कारण यो साथी खोज्नै पर्ने दबाब झनै बढेको छ । जसले अन्य बच्चाहरूलाई पनि असर गर्छ र तिनीहरू एकअर्कालाई राम्ररी नचिनेर सम्बन्धमा जान्छन्, त्यसपछि सबैलाई देखाउन सोशल मिडियामा एकअर्कासँग खिचिएका फोटोहरू पोस्ट गर्न थाल्छन्।

यस्तो सम्बन्धमा समस्या पनि चाँडै सुरु हुन्छ। यसरी, स्टेटस सिम्बल, सामाजिक सञ्जाल र साथीहरूको दबाबको यो सर्कस चलिरहन्छ। जसमा क्रोध, रिस, असन्तुष्टि र मानसिक दबाब यी सबैको मिलनले मानसिक स्वास्थ्य बिगार्छ।