काठमाडौं, भदौ ९ । मिस नेवाः नेपाल ११४३ को उपाधि चन्द्रागिरि नगरपालिका नयाँ नैकापकी सकिना महर्जनले चुम्नुभएको छ । नेप्लिज फेसन होमद्वारा राजधानीमा आयोजित नेवार सुन्दरीहरूको प्रतिभामूलक प्रतियोगितामा महर्जनले १७औं संस्करणको उपाधि चुम्नुभएको हो ।
सकिनाले उपाधिबापत नगद एक लाख रुपियाँ प्राप्त गर्नुभएको छ । मंगलबार राति कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेवारी कला, संस्कृति र भेषभूषामा भव्यताका साथ सम्पन्न प्रतियोगितामा महर्जन प्रमुख उपाधिका साथ मिस पर्सनालिटी उपउपाधि विजेता पनि हुनुभएको छ ।
त्यसैगरी काठमाडौंको म्हैपीकी रिधिशा श्रेष्ठ फस्ट रनर्सअपका साथ मिस पब्लिक च्वाइस र डल्लुकी मिनशा महर्जन सेकेन्ड रनर्सअप हुनुभएको छ । यस्तै रिधिशा र मिनशाले पुरस्कारबापत क्रमशः २५ र १५ हजार रुपैयाँ नगद प्राप्त गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य र वरिष्ठ समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्न १८ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताउनु भयो ।
प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंगोलले आफू मिस नेवाः भएकै कारण यहाँसम्म पुगेको र आफूलाई पूर्वमिस नेवाः नभई मिस नेवा ः मात्र भन्न आग्रह गर्दै एक पटकको मिस नेवाः सधैंको मिस नेवाः हुने बताउनु भयो। उहाँले नेवारी भाषा र कला सिक्नका लागि मात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएको समेत बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्