जनता टाइम्स

९ भाद्र २०८०, शनिबार १७:२९

‘मर्स्याङ्दी ग्रुप’ ले घनपोखरामा जलविद्युत आयोजना निर्माण गर्ने


लमजुङ ९ भदौ । मर्स्याङ्दी गाउँपालिकामा गठित ‘मर्स्याङ्दी ग्रुप’ ले गाउँपालिकामा कम्तीमा १ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । मर्स्याङ्दी गाउँपालिका–२, खनपोखराको किचे खोलाको पानीलाई सदुपयोग गरी साना जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरिएको छ ।

‘मस्र्याङ्दी ग्रुप’ को शुक्रबार गाउँपालिकामा आयोजित शेयर सदस्यहरुको पहिलो भेलाले जलविद्युत आयोजना निर्माणको लागि मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड गठन गरेको छ । कम्पनी संचालक समितिको अध्यक्षमा संविधान सभा सदस्यसमेत रहनुभएको जमीन्द्रमान घले रहनुभएको छ । छन् ।

सदस्यहरुमा चेत बहादुर गुरुङ, मनिप्रसाद गुरुङ, पूर्णबहादुर गुरुङ र टीकाराम भण्डारी चयन भएका छन् । समितिको प्रमुख सल्लाहकार राप्रपा उपाध्यक्ष समेत रहेका हेमजङ गुरुङ र सल्लाहकारहरुमा बमबहादुर भण्डारी र चन्द्रलाल गुरुङ चयन भएका छन् । जलविद्युत आयोजना निर्माणको लागि कम्पनीले आवश्यक सवै प्रक्रिया थाल्नेछ ।

आयोजना निर्माणका लाग्ने बजेट ग्रुपले व्यवस्थापन गर्ने मर्स्याङ्दी गाउँपालिका अध्यक्ष समेत रहनुभएका मर्स्याङ्दी ग्रुपका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका अनुसार छिट्टै सवै कानुनी तथा प्रक्रियागत थालनी कम्पनीले अघि बढाउँनेछ । ग्रुपका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको बेलामा संविधान सभा सदस्य जमिन्दमान घले र राप्रपा केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले विशेष सम्बोधन गर्नुभएको थियो ।

दुवैजनाले मर्स्याङ्दी गाउँपालिकाको सर्वाङ्गिण विकासको लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । मर्स्याङ्दी गाउँपालिकामा उद्योग व्यावसाय स्थापना गरेर रोजगारी सिर्जना गर्ने उदेश्यले स्थापना गरिएको मर्स्याङ्दी ग्रुपमा करिब ५ सय जना जोडिएका छन् । उनीहरुले पहिलो किस्ता स्वरूप २५ हजार रूपैयाँ जम्मा गरेका छन् । शेयर राख्न अझै पर्याप्त समय र सूजना नपाएको जनगुनासोलाई मध्यनजर गर्दै भदौ १० गतेसम्म समय थप गर्ने निर्णय गरिसकिएको छ ।