जनता टाइम्स

१९ भाद्र २०८०, मंगलवार १६:१९

प्रधानमन्त्रीको नाममा सचिवालयबाटै असुली धन्दा चलाइएको खुलासा, यस्तो छ तथ्य प्रमाण


काठमाडौं, भदौ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्रीको नाममा असुली धन्दा चलाएको प्रमाण फेला परेको छ ।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले बिज्ञापनका नाममा पत्र नै लेखेर सरकारी कार्यालयदेखि नीजि क्षेत्रसम्मलाई असुली योजना अघि बढाएको पाइएको हो । प्रेस संयोजक शर्माले प्रधानमन्त्रीको स्वकीय सचिवालयको नाममा पत्र पठाएर आतंक मच्चाएको जनताटाइम्स डटकमले प्राप्त गरेको छ । जस्मा उहाँले ‘जो जससँग सम्बन्धित छ’ भन्दै रकम उपलब्ध गराउन भनिएको छ ।

‘मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तनहरु भए, ब्यवस्था फेर्न हामी सफल भयौं । तर अवस्था परिवर्तन गर्न सकिएको छैन । अवस्था परिवर्तनको आधार समृद्ध राष्ट्र नै हो । जनअपेक्षाकृत सरकारको पहलकमदी, सुशासन, आर्थिक समृद्धि, रोजगारी सिर्जना, सुनौलो भविश्य निर्माणका लागि प्रेरणाको प्रष्फुटन गराउन सरकारले राष्ट्र निर्माण अभियानको सञ्चार गराउन नेपाल टेलिभिजनबाट यही भदौ २ गते शनिवारदेखि राष्ट्र निर्माण कार्यक्रम प्रशारण हुँदैछ । हरेक हप्ता …प्रशारण हुने कार्यक्रम सम्मानीति प्रधानमन्त्रीज्यूको सचिवालयको समन्वयमा अल थ्रि मिडिया घर प्रा.लि. ले यत्पादन गर्दैछ,’ पेस संयोजक शर्माले पैसा माग्दै लेखेको पत्रमा भनिएको छ, ‘कार्यक्रमलाई ब्यावसायिक रुपमा सहकार्य गर्न ब्यवस्थापनको जिम्मेवारी मिडिया हव प्रा.लि लाई दिइएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूको राष्ट्र निर्माणको यो अभियानमा आवश्यक सहयोगको अपेक्षा गर्दै मिडिया हव प्रालि मार्फत कार्यक्रम उत्पादन तथा प्रशारण शुल्क ब्यवस्थापनको लागि ब्यावसायिक सरकार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दैछौं ।’

प्रधानमन्त्रीका प्रेस संयोजक शर्माले गत साउन २८ गतेको मितिमा प्रधानमन्त्रीको कार्यक्रममा पैसा दिन भन्दै पत्र पठाउनु भएको छ ।
सोही पत्रको आधारमा मिडिया हवले हरेक सरकारी कार्यालयमा प्रधानमन्त्रीको सचिवालयको निर्देशन भन्दै बिज्ञापनबापत भनेर मोटो रकम मागेको पाइएको छ । एउटा बिज्ञापन एजेन्सीलाई पैसा मागेर प्रधानमन्त्रीको सचिवालयले सवै सरकारी कार्यालय, ब्यापारी र बैंक तथा बित्तीय संस्थामा धम्की दिँदै असुली अघि बढाएको हो ।

शर्माले पत्र मात्र होइन, आफै फोन गरेर पैसासमेत तोकेर बिज्ञापन उपलब्ध गराउन भन्दै धम्की दिने गरेको पाइएको छ । शर्माको सोही पत्रलाई साथमा राखेर मिडिया हवका कार्यकारी निर्देशक सोम धितालले ‘सम्माननीय प्रधानमन्त्रीको सचिवालय अन्तर्गत रहेको मिडिया टीमको अगुवाईमा भन्दै बिज्ञापन मागेर पत्र पठाएको पाइएको छ ।

मिडिया हबका कार्यकारी निर्देशक धितालले त्यतिमात्र लेख्नुभएको छैन, पत्रमा प्रधानमन्त्री कार्यालयकै आह्वान भन्दै पत्र पठाउनु भएको छ । ‘यस टेलिभिजन कार्यक्रममा आफ्नो संस्थाको प्रबर्धनात्मक सामाग्री प्रचार प्रशार गरी राष्ट्र निर्माणको यो अभियानमा सहभागी भै सहयोग गरिदिनु हुन नेपाल सरकार प्रधानमन्त्री कार्यालय हार्दिक आह्वा गर्दछ,’ धितालले हस्ताक्षर गरी बिज्ञापन माग्दै पठाइएको पत्रमा भनिएको छ ।

पत्रको साथमा १० मिनेको १० लाख र ५२ मिनेटको ४० लाख भन्दै २६ वटा कार्यक्रमका लागि बिज्ञापन शुल्क तोकिएको छ । तोकिए बमोजिम बिज्ञापन दिनु भन्दै अहिले सरकारी कार्यालयमा प्रधानमन्त्रीको सचिवालयबाट आतंक मच्चाउने काम भएको छ ।

‘लाखमा पैसा तोकेर नै प्रधानमन्त्रीको कार्यक्रम हो, सचिवालयले भनेको भन्दै धम्की दिन गरिएको छ,’ एक सरकारी कार्यालयका प्रमुखले जनताटाइम्स डटकमसँग भने । उनका अनुसार सवै मन्त्रालय मातहतका सरकारी कार्यालयमा बिज्ञापन दिएर कार्यक्रममा सहभागी हुन उर्दी जारी गरिएको छ । प्रेस संयोजक शर्मादेखि अन्य सवै टीम नै अहिले एउटा बिज्ञापन एजेन्सीको लागि काम गरिरहेको स्रोतको भनाई छ ।