काठमाडौं, भदौ २७ । नेकपा माओवादी केन्द्रका नेताहरुसँग घनिष्ठ सम्बन्ध रहेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ नै सुन तस्कर समूहको नेपाली व्यवस्थापक भएको तथ्य खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले आफ्नो अनुसन्धान प्रतिवेदनमा यस्तो तथ्य खोलेको हो । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट मोटसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन प्रकरणमा पक्राउ परेका दावा नेपाली ब्यवस्थापक रहेको सिआइवीले जनाएको हो ।
सीआईबीले आज पत्रकार सम्मेलन गरेर दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको पाइएको बताएको छ । सुन प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्कर समूहको नेपालमा व्यवस्थापन गरेको पाइएको छ ।
‘एलेक्सले भनेअनुसार नै उनले समूहका सदस्यहरुलाई चाहिने कोठा र घर भाडामा लिने काम गरेको पनि पाइएको छ’, पत्रकार सम्मेलनमा थापाले भन्नुभयो, ‘सुन गाल्नलाई व्यवस्थापन गरिएको टोखा र लाजिम्पाटस्थित स्थानमा सम्पर्क र भेटघाटको वातावरण पनि दावाले नै मिलाउने गरेको पाइएको छ ।’
प्रहरीले आरोपीहरुलाई होटलमा बस्ने प्रबन्धको व्यवस्थापन पनि दावाले नै गरेको पाइएको जनाएको छ । दावा रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् हुन । अमलाको नाममा ठमेलस्थित होटल भियना छ । तस्कर समूहले त्यस होटल तस्करीमा प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले अमलालाई पनि प्रतिवादी बनाउन सुझाव दिएको छ ।
एसपी थापाका अनुसार, होटल भियनासँगै रहेको केटीबी काराओकेमा पनि तस्कर समूहका सदस्यहरु भेला हुने गरेको पाइएको छ । प्रहरीका अनुसार सामान बरामद भएपछि लुकिछिपी बस्नका लागि अपार्टमेन्टको व्यवस्थापन पनि दावाले नै गरेको तथ्य खुलेको छ ।
यसैगरी चिनियाँलाई नेपाली नागरिक र राहदानी बनाउन सहयोग गर्नेको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ । दावा नै मुख्य ब्यवस्थापक रहेको तथ्यसँगै सुन तस्करीमा माओवादी नेताहरुको साथ रहेको तथ्य उजागर भएको छ ।













प्रतिक्रिया दिनुहोस्